भर्खरै : Sorry, your browser does not support inline SVG.

डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की

डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की

काठमाडौं, १५ साउन । नेपाल प्रहरीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा सामाजिक तनावका गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै नागरिकलाई संयमता, सहिष्णुता र आपसी सद्भाव कायम राख्न विशेष अपिल गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भिडियो सन्देश जारी गर्दै नेपालको पहिचान ‘विविधतामा एकता’ रहेको उल्लेख गर्दै यसलाई जोगाउनु सबै नेपालीको साझा दायित्व भएको बताएका छन्।

उनले विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने, डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको उल्लेख गर्दै यस्ता कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पारे। आईजीपी कार्कीका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीतका गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने खतरा हुन्छ।

भिडियो सन्देशमा उनले भनेका छन्, “हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।”उनले संवेदनशील परिस्थितिमा अफवाह र घृणा फैलाउनुको सट्टा विवेक, संयम र सद्भावको मार्ग अपनाउन आग्रह गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु नै अहिलेको आवश्यकता भएको बताए।

नेपाल प्रहरीले सबै नेपालीलाई आपसी सम्मान, सहिष्णुता तथा एकअर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.