भर्खरै : Sorry, your browser does not support inline SVG.

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरबी समझदारी–पत्रमा हस्ताक्षर

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरबी समझदारी–पत्रमा हस्ताक्षर

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी–पत्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र काठमाडौं महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले हस्ताक्षर गरेका हुन ।

प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए । सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत समझदारी–पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि महानगरले प्रहरी कार्यालयलाई ६ करोड रूपैयाँ उपलब्ध गराउने ससमझदारी–पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाको सम्पर्क कार्यालय राष्ट्रिय सभागृहमा समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

 


Thali Mobile Pvt.Ltd.