भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

एक दिनमा नयाँ बसपार्कबाट २४ हजार यात्रुले लिए अग्रिम टिकट

एक दिनमा नयाँ बसपार्कबाट २४ हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जानकारी दिए ।

सोमबार अग्रिम टिकट लिनका लागि आइतबार रातिदेखि नै यात्रुहरु नयाँबसपार्कमा आएर लाइन लागेका थिए । नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ ।

नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए । उनले काठमाडौँ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए ।

यस्तै विभिन्न प्रविधिको सहयोगमा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ थियो । प्रहरीले चाडबाडमा बढी भीडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.