निम्न वर्गिय परिवारमा जन्म लिएकी एक किशोरी कर्मठ बन्न जनयुद्धमा होमिइन् । आफुलाई साधारण नागरिकको रूपमा परिचित गराउँदै जीवनमा केहि गरेर सबै समान भएको हेर्न र वर्गविभेदको अन्त्य गरी सुन्दर संसार निर्माणको लक्ष्यमा लागिन् । तर त्यहि जनयुद्धले उनलाई बहिर्गमनमा पारिदियो । बहिर्गमित जनमुक्ति सेना भनेर मान पदवी पाउँला भन्ने उनले कहिल्यै ठानिनन् । तिनै व्यक्ति हुन् रिता पौडेल ।
उनै नारी जसले वर्गविहिन समाज निर्माणको सपना बोकेर जनयुद्धको बाटो रोजिन् । रिता जस्तै सुन्दर सपना सजाउँने धेरै जनमुक्ति सेनाहरु बहिर्गमित भएर निस्किए । उनी जस्तै लडेका केही नेतृत्व अहिले आलिशान महलमा बसेर ज्यूनार गर्छन् भने रिता जस्तै जनयुद्ध लडेका कैयौं मजदुरी गरेर पेटका लागि संघर्ष गरिरहेका छन् ।
कैयौं खाडीमा पसिना बगाइरहेका छन् । परिवर्तन नभएको होइन, परिवर्तनको मुख्य लडाईँ लडेकाहरु अयोग्य भएर घोषणा गरिदा चित्त दुखाउँछन् रिता जस्तै पूर्व जनमुक्ति सेनाहरु । अझै भन्ने गरेका छन्, ‘रगतले कोरिएको इतिहासलाई धोका दिने छैनौं’ आजको यो अंकमा उनै रिताको अनुभव जस्ताको त्यस्तैः
रगतले कोरिएको इतिहासलाई धोका दिने छैनः बहिर्गमित किशोरी
म साधारण परिवारमा २०४७ साल वैशाख २५ गते जन्मिएकी छोरी हुँ । मैले निर्वाह गर्नुपर्ने कर्तव्य र भूमिका के–के हुन् भन्नेमा अझै जानकार छैन । खानु, बस्नु, लाउनु भनेको व्यक्तिको नैसर्गिक अधिकार हो । त्यो नै जन्मको सार्थकता हो र ? त्यसैले नयाँ काम परिवेश र बाटो रोज्ने प्रयत्न भने नगरेकी होइन तर हरेक बाटोमा अप्ठ्यारा उकालीओराली र घुम्ती मोडहरू आउने र त्यसलाई पार गर्नुपर्ने कुरा त छँदैछ ।
त्यसमाथि पनि निम्न परिवारमा जन्मिए र हुर्केको कारणले गर्दा आर्थिक अभावमा पर्नुपर्ने बाध्यता छ । यहाँ आफन्तको माया सद्भाव र सहयोग त पैसामा साटिन्छ भने पराइको त झनै के कुरा भयो र ? त्यसकारणले आफ्नो लागि आफैँ बाटो बनाउँदै अगाडि बढ्ने क्रममा घर अगाडिको तघारो नाघेर वर्ग सङ्घर्षको भट्टि जनयुद्धमा हाम फालेर आफूले सकेको जानेको भूमिका निर्वाह गर्दै अगाडि बढेँ ।
त्यही क्रममा म विभिन्न भुगोलहरूमा विभिन्न जात, धर्म, संस्कार र संस्कृतिहरूको अध्ययन गर्न पुगियो । यहाँ हुने खाने वर्ग र हुँदा खाने वर्गबीचको खाडल र दूरीको मापन गर्न सक्ने क्षमता बनाय । भोक, प्यास दुःख सुखको संगमलाई बुझ्नको लागि पनि मानिसले एक पटक आफ्नो घर छोडेर सङ्घर्षमा होमिनु पर्ने रहेछ । अनि मात्र मान्छेले मानव जगतलाई बुझेर त्यहि अनुसारको व्यवहार र कर्म गर्न सक्दछ ।
यति लेखिरहँदा म आफूमा आफैँ सबै कुराको ज्ञानले भरिपूर्ण छु भन्न खोजिरहेकी पक्कै छैन तर पनि मानिसले ठाउँ र अवसर पाएमा जो जहाँ पनि पुग्न सक्ने क्षमता बनाएर जस्तो पनि भूमिका निर्वाह गर्नलाई पछि नहट्ने कुराहरू वर्ग सङ्घर्षको भट्टिमा खारिएर निक्लिएका योद्धाले उदाहरण दिई नै रहनु भएको छ ।
म यस्तो देशको नागरिक हुन पुगेकी जहाँ धनीलाई मतलब नै छैन, मध्यम वर्गलाई फूर्सद नै छैन र निम्न वर्गले चाहेर पनि गर्न सक्दैनन् अनि कहाँबाट आउँछ त परिवर्तन ? नेताहरू जति पनि सत्तामा पुग्नु भयो । त्यहाँको भत्ताले उहाँहरू आफू परिवर्तन भएर सेलिब्रेटी हुनुभयो र आफ्नो अस्तित्व जोगाउनेतर्फ लागि पर्नुभयो ।
त्यसपछि कता देश, कता जनता, कता उत्पिडित वर्ग, घाइते, अपाङ्गता भएका व्यक्ति र सहिद परिवारसँग बिरानो हुन पुग्नुभयो र मजस्ता साना कार्यकर्ता बिचलनमा परी राजनीतिमा गरेको त्याग, तपस्या समर्पण र सङ्घर्षलाई बीच बाटोमा छोडेर आफ्ना सपनाहरूलाई थाती राख्दै बिलिन हुन पुग्यौ र यो पँुजीवादी समाजमा हरायाैँ ।
यहाँ आफ्नो अस्तित्व बनाउन र जोगाउन धेरै नै मेहनत र सङ्घर्ष गर्नु पर्छ । सङ्घर्षको मैदानमा नथाकी दौडने योद्धाको हातमा यो संसार छ । सफलता कसैले उपहारमा दिईने सामान होइन, मेहनतले पाउने हो तर म भन्छु सफल हुनु ठूलो कुरा छैन । हामी असल नागरिक हुन सकेमा मात्र पनि संसार असल हुनेछ ।
त्यसकारण म आफूले आफूलाई सफल बनाउनेतर्फ भन्दा पनि असल बन्न सकु त्यसतर्फ लम्किरहेका मेरा पाईला कहाँ सम्म पुगेर रोकिने हुन् म आफैँ अनविज्ञ छु । आज नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोछ तर हाम्रो देशका नेताहरू सत्ताको भत्ताकै भागवण्डा नमिलेर लुछाचुडी गर्न मै व्यस्त छन् । जनता कोरोनाको कहरमा मरिरहेका छन् ।
हामी देखेर हेरेर पनि गर्न सक्ने अवस्था नभएर अन्जान बनी दर्शक बनेर हेरिरहेका छौँ । यो भन्दा ठूलो बिडम्बना अरू के नै हुन सक्छ र ? शहिदको सपना र उहाँहरूले देखाउनु भएको बाटोमा निरन्तर अगाडि बढिरहने छु र रगतले कोरिएको इतिहासमा कहिले धोका नदिने बाचा गर्नेछु । अनि मलाई जन्म दिने मेरा आमा बुवाप्रति नमन गर्न चाहन्छु धन्यवाद !
बहिर्गमित पूर्व लडाकु
रिता पौडेल
कमरेड ‘रक्षा’

