भर्खरै : Sorry, your browser does not support inline SVG.

बिटुमिन अभाव हटेसँगै नागढुंगा-नौबिसे सडक विस्तारले लियो गति

बिटुमिन अभाव हटेसँगै नागढुंगा-नौबिसे सडक विस्तारले लियो गति

काठमाडौं, ३१ जेठ। राजधानी प्रवेश गर्ने प्रमुख मार्ग नागढुंगा–नौबिसे–मलेखु सडकखण्डअन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) कार्य पुनः सुरु भएको छ।

मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण बिटुमिन (अलकत्रा) आयात प्रभावित भएपछि सडक विस्तार तथा पुल निर्माणको काम केही समयदेखि अवरुद्ध बनेको थियो। निर्माण व्यवसायी सहदेव खड्का का अनुसार कच्चा पदार्थको आपूर्तिमा आंशिक सुधार आएपछि पुनः कालोपत्रे कार्य अगाडि बढाइएको हो।

हाल सवारी चाप अत्यधिक हुने र संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर सडक पिच गर्ने काम भइरहेको छ। तर वर्षायामका कारण प्रतिकूल मौसमले निर्माण कार्यलाई अपेक्षित गतिमा अघि बढाउन चुनौती सिर्जना गरिरहेको निर्माण पक्षको भनाइ छ।

नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड संघीय राजधानी काठमाडौंलाई देशका पूर्वी र पश्चिमी क्षेत्रसँग जोड्ने अत्यन्त व्यस्त राजमार्ग हो। दैनिक हजारौँ सवारी साधन सञ्चालन हुने यस मार्गमा कालोपत्रे अधुरो हुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यात्रु तथा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका थिए।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियमजन्य पदार्थ र बिटुमिनजस्ता निर्माण सामग्रीको विश्वव्यापी आपूर्ति प्रभावित हुँदा नेपालका विभिन्न पूर्वाधार आयोजनामा समेत असर परेको छ। धार्के बजार क्षेत्रमा सडक र पुल निर्माणले पुनः गति लिएसँगै स्थानीय व्यवसायी र सर्वसाधारणले राहत महसुस गर्न थालेका छन्।

 


Thali Mobile Pvt.Ltd.