काठमाडौं, ३१ जेठ । कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गराउने क्रममा वनका कर्मचारीले एउटा टेम्पो भीरबाट खसालेको आरोप लागेको छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसको व्यापक चर्चा भइरहेको छ।
घटना गोदावरी नगरपालिका–४ की धनादेवी धामीसँग सम्बन्धित हो। उहाँले बासपानी क्षेत्रमा सडक छेउमा खुद्रा सामान बिक्री गर्न प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारीहरूले धकेल्दै भीरसम्म पुर्याएर खसालेको आरोप लगाउनुभएको छ।
धनादेवी धामीका अनुसार टेम्पोमा रहेका सामान झारिसकेपछि आफूले सवारीसाधन घर लैजान खोज्दा कर्मचारीहरूले अनुमति नदिई सडकबाट धकेलेर खसालिदिएका थिए। यता डिभिजन वन कार्यालय धनगढी का प्रमुख रामविचारी ठाकुर ले भने पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरिएको र कर्मचारीसँग विवाद तथा धकेलाधकेलको अवस्था सिर्जना भएपछि घटना भएको दाबी गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली ले घटनाबारे आवश्यक छानबिन भइरहेको जनाएको छ। डिभिजन वन कार्यालयले वन अतिक्रमण हटाउने अभियानअन्तर्गत भिमदत्त राजमार्ग क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका ४७ वटा कच्ची तथा पक्की संरचना हटाइसकेको जनाएको छ। कार्यालयका अनुसार भ्यागुते पानी, बासपानी र गोदावरी आसपासका वन क्षेत्रमा रहेका अवैध संरचना हटाएर वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने अभियान जारी छ।
यस अभियानमा डिभिजन वन कार्यालयका विभिन्न सब–डिभिजन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित करिब २०० जनाको संयुक्त टोली परिचालन गरिएको बताइएको छ।
