काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर र जीत शेरचन तीन जना सभापतिका उम्मेदवार बनेका थिए ।
उम्मेदवार उपाध्यायले ७ सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले १ सय ६४ मत पाएका छन् । उपाध्याय र शेरचन बीच १०४ मतको फरक छ । धेरै मत ल्याएका जगदीश चन्द्र उपाध्याय र जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले बताए ।
आजै दुवै जनाबीच मतदान हुने उनको भनाइ छ । जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्ने विधानमा व्यवस्था छ । सभापतिका उम्मेदवार रामचन्द्र पौडेल पक्षका नेता हुन् भने शेरचन कृष्ण सिटौला पक्षका नेता हुन् ।
कुँवर देउवा पक्षमा खुलेर लागेका छन् । कुल १७८० मतदाता रहेको बागलुङमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको थियो । अन्य पदाधिकारी र सदस्यको मतगणना सभापतिको मतगणनापछि एकै साथ गणना गर्ने निर्वाचन समितिले बताएको छ ।

