काठमाडौं । महानगरपालिकाले सबै वडामा एक जेनरल प्राक्टिस चिकित्सक र एक नर्स करारमा राख्ने निर्णयले अस्पतालको चाप कम हुने भन्दै जानकारहरूले त्यसलाई स्वागतयोग्य कदम मानेका छन्।
जेनरल प्राक्टिसका चिकित्सकको अवधारणा ग्रामीण भेगमा सेवा प्रदान गर्ने भए पनि सुविधासम्पन्न महानगरमै यस्तो व्यवस्था गर्न लागिएको छ। छोटो दूरीमै अस्पताल भेटिने काठमाडौं भित्र वडा पिच्छे जेनेरल प्राक्टिस गर्ने एमडी डाक्टरको व्यवस्थाले वडामै धेरै बिरामीको स्वास्थ्य परीक्षण गर्न सहज हुने चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरूले बताएका हुन् ।
तर कतिपयले उक्त विषय पढ्ने चिकित्सकको सङ्ख्या नै कम भएका कारण जनशक्ति उपलब्ध हुन गाह्रो हुनसक्ने बताएका छन्। उनले हरेक वडामा वार्ड क्लिनिक राख्न र त्यहाँ एमडीजीपी र नर्सलाई करारमा लिन लागिएको बताए ।
चिकित्सा क्षेत्रका जानकारका भनाइमा विशेषज्ञता चाहिने बाहेकका विषयमा एमडीजीपीले बिरामीको उपचार गर्ने गर्छन्। अनि आवश्यकता अनुसार थप उपचारका लागि रिफरु गर्छन्।
तर काठमाण्डू महानगरपालिकामा पनि महानगरवासीलाई सहज होस् भन्ने अवधारणाले कार्यविधि बनाएर चिकित्सक र नर्सहरू नियुक्त गर्न लागिएको प्रवक्ता नवीन मानन्धरले बताए।
चिकित्सा शिक्षाको नियमन र व्यवस्थापन गर्ने आधिकारिक निकाय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी महानगरको निर्णय सकारात्मक भएको बताएका छन्।
