७ असार २०७७ आइतबार, काठमाण्डौ । कुवेत सरकारले आज पनि त्यहाँ आममाफीमा सहभागी १६६ जना नेपालीलाई काठमाण्डौ ल्याइदिएको छ । जरिवाना माफ गर्दै कुवेतले आममाफीको अवसर दिएर निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो ।
१ पुरुष, ६ जना बालबालिका र १६९ जना महिला ल्याएको हो । आममाफीमा सहभागी सबैलाई आफैंले सेल्टरको व्यवस्था गरेको कुवेतले ७ उडानमार्फत एक हजार ६४ जना नेपाली स्वदेश ल्याइदिएको हो । आजै साउदीको रियाद, यूएईको आबुधाबी र कतारको दोहाबाट नेपालीहरु काठमाण्डौ आइपुगेका छन् ।
यूएईको आबुधाबीबाट नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् ।
यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिएको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको हो । आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ ।
त्यस्तै, कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । दोहाबाट सुत्केरी र गर्भवतीसहित ८२ जना महिला, तीनजना नाबालक र ६४ जना पुरुष स्वदेश फर्किएका छन् ।
आज बिहान साउदीको रियादबाट पनि २४६ जना नेपाली स्वदेश आइपुगेका छन् । आजै यूएईबाट थप दुई उडानमार्फत नेपाली फर्कंदै छन् भने बहराइन, मलेसिया र बंगलादेशबाट पनि नेपाली स्वदेश फर्कंदैछन् ।