बाँके । नेपालमा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा १० करोडको केरा आयात भएको हो । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको भए पनि यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ।
नेपालगन्जलगायत यस क्षेत्र केरा लगायतका फलफूल उत्पादनको अवस्था न्यून छ। केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ।
यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ। स्थानीय बजारमात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ।
बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको छ। बाँके र बर्दिया जिल्लामा चार हजार किसानले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केराखेती गरिरहेका छन्।
नेपालगन्ज नाका हुँदै अन्य फलफूल आयात हुँदै आएको छ। स्वदेशी केरा उत्पादक किसानले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन्।
