गुम्यो एमालेको एकल बहुमत, पदमुक्त चार सांसद

गुम्यो एमालेको एकल बहुमत, पदमुक्त चार सांसद

सुर्खेत । नेकपा एमालेका चार जना सांसद पदमुक्त भएका छन् । कर्णालीमा चार सांसद पदमुक्त भएसँगै एमालेको एकल बहुमत गुमेको छ। यसले तत्कालका लागि एमाले नेतृत्वमा सरकार गठन हुने सम्भावना टरेर गएको छ।

गत बैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने क्रममा एमालेको माधव नेपाल पक्षका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोरक्रस गरेका थिए। त्यसपछि उनीहरुलाई एमालेले कारबाही गरेको थियो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधिश प्रकाश ढुंगानाको संयुक्त इजलासले फ्लोरक्रस गर्नु संसदीय दलको निर्णयविपरीत भन्दै यसअघि एमालेले गरेको कारबाहीलाई सदर गरेको हो।

पार्टीले गरेको कारवाहीका आधारमा पदमुक्त भएका चारै जनालाई जेठ २७ गते सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो। सो अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली अदालत गएका थिए। ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले राउतको अन्तरिम आदेश खारेज गरेको छ।

अदालतको यो फैसलासँगै अब एमालेका चार सांसद पदमुक्त भएका छन्। सर्वोच्चको यो निर्णयसँगै प्रदेश सभामा एमालेको एकल बहुमत पनि गुमेको हो। कारबाही अघि ३९ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका २० सांसद थिए। त्यो एमालेको एकल सरकार गठन गर्न आवश्यक बहुमत थियो। आन्तरिक विवाद मिलाउन सकेको भए एमालेले आफ्नै नेतृत्वमा एकल बहुमतको सरकार गठन गर्न सक्थ्यो।

तर अब प्रदेश सभामा सभामुखसहित एमालेका सांसदको संख्या १६ मा झरेको छ। यसअघि एकल बहुमत हुँदा पनि आन्तरिक विवादका कारण एमालेले सरकार गठन गर्न सकेको थिएन। एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा बैशाख ३ गते एमालेका चार जना सांसदले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। एमालेका तिनै चार सांसदको कारण जोगिएको कर्णाली सरकार सर्वोच्चको फैसलापछि अब स्पस्ट बहुमतमा पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.