भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८३ सुरु ।
८४ विद्यालयका ३ हजार २०० भन्दा बढी विद्यार्थी सहभागी ।
टेबुलटेनिस, फुटबल, भलिबल, कबड्डी, कराँतेसहित १५ विधामा प्रतिस्पर्धा ।
नगरप्रमुख सुनिल प्रजापतिद्वारा खेलकुद पूर्वाधार र खेलाडी उत्पादनमा जोड ।
उद्घाटनमा नारायणमान बिजुक्छेँले खेलकुदले स्वस्थ, अनुशासित र सक्षम नागरिक निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
भक्तपुर, ३ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ । प्रतियोगितामा नगरभित्रका ८४ विद्यालयका ३ हजार २०० भन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, पोर्टबल, बाघचाल र कसिमला पाँय गरी १५ विधाका खेल सञ्चालन हुनेछन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले युवा तथा विद्यार्थी अवस्थादेखि नै शरीरलाई स्वस्थ राख्न सके असल र सक्षम नागरिक निर्माण गर्न सकिने बताउनुभयो । खेलकुद स्वस्थ शरीर र अनुशासनका लागि मात्र नभई देश र जनताको सेवाका लागि पनि आवश्यक रहेको उहाँको भनाइ थियो ।
खेलकुदले शारीरिक तथा मानसिक क्षमता विकास गर्नुका साथै देशमा संकट आइपर्दा सामना गर्न सक्ने क्षमता बढाउने उल्लेख गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि खेल्ने भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नागरिक जीवनको अभिन्न अंग बनाउने उद्देश्यले नगरपालिकाले अन्तरविद्यालय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।

राष्ट्रिय प्रतियोगितामा विजयी तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भक्तपुरका खेलाडीलाई सम्मान गर्ने र आवश्यक स्थानमा खेलकुद कभर्ड हल निर्माण गर्ने प्रतिबद्धता निर्वाचन घोषणापत्रमा समेटिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै प्रमुख प्रजापतिले वडा नं. ८ लिबालीमा ब्याडमिन्टन कभर्ड हल र वडा नं. १० बेखालमा टेबुलटेनिस कभर्ड हल निर्माण गरी प्रशिक्षण सञ्चालन भइरहेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले खेलकुदमा अनुशासन अपरिहार्य रहेको बताउँदै प्रतियोगिताले विद्यार्थीलाई खेलकुदमा सहभागी हुने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो । स्थानीय तहबाट भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको अगुवाइ सराहनीय रहेको उहाँको भनाइ थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन र प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो । खेलकुदलाई पदक प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र स्वस्थ प्रतिस्पर्धा विकास गर्ने अवसरका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले विद्यार्थीले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । वडा नं. १ का वडाध्यक्ष तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुदमा भविष्य खोजिरहेका विद्यार्थीका लागि नगरपालिकाले आयोजना गर्ने प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्ने स्थानीय तहका रूपमा भक्तपुर नगरपालिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन समारोहमा नगरपालिकाद्वारा सञ्चालित ताई ची तथा जिम्न्यास्टिक खेलको प्रदर्शन गरिएको थियो । प्रतियोगितामा खेलाडीका तर्फबाट पोर्टबल खेलाडी अभिषेक तामाङले शपथ लिनुभएको थियो भने निर्णायकका तर्फबाट रेफ्री गणेशराम ग्वाछाले प्रतियोगिता निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धतासहित शपथ लिनुभएको थियो ।
प्रतियोगिता उद्घाटनका अवसरमा निकालिएको ¥याली वडा नं. ९ स्थित दत्तात्रयबाट सुरु भई गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो र दुधपाटी हुँदै सहिद स्मृति खेलमैदानमा पुगेर समापन भएको थियो ।
