बागलुङ । जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो ।
ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् । ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् ।
केही नगद र गरगहनासमेत जलेको पीडित सर्कीनीले बताइन् । साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
