भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

छ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित, राजधानीमा फैलियो दादुरा

छ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित, राजधानीमा फैलियो दादुरा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९ मा स्थित गुम्बाका ४ बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ । पाँच जनाको रगत परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो । १६ बालबालिकालाई आइसोलेसनमा राखिएकाले समुदायमा फैलन नपाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

ती मध्य अधिकांशले एउटा पनि दादुराको खोप नलगाएको पाइएको छ । गत पुसमा बाँकेको नेपालगन्जबाट सुरु भएको संक्रमण सुर्खेत, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, बाजुरा, चितवन, महोत्तरी, धनुषा, कपिलवस्तु, अर्धाखाँची, सर्लाही, सुनसरी र मोरङ पछि काठमाडौंमा फैलिसकेको छ ।

दादुरा अत्यन्त संक्रामक भएकाले एक जनामा मात्र संक्रमण पुष्टि भए यसलाई ‘आउट ब्रेक’ अर्थात् प्रकोपका रूपमा बुझ्नुपर्ने ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए । सरकारले जोखिममा रहेका ९ जिल्लामा बिहीबारबाट खोप अभियान सञ्चालन गरेको छ ।

६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा अभियान सञ्चालन गरिने खोप शाखाले जनाएको छ ।

नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र केन्द्रबारे जानकारी लिन र खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । सन् २०१९ सम्ममा दादुरा उन्मूलन गरिसक्ने नेपालको लक्ष्य थियो । लक्ष्य पूरा नहुने भएपछि सन् २०२३ सम्ममा उन्मूलन गर्ने प्रतिबद्धता जनायो । अब यो लक्ष्य सन् २०२६ सम्मका लागि सारिएको छ ।

बर्सेनि दादुरा संक्रमित बिरामी पुष्टि भइराख्नुले नेपालले दादुरा निवारणमा लिएको लक्ष्य भेट्नै कठिन देखिन्छ ।नेपालमा दादुराविरुद्धको खोप सन् १९७९ बाट लगाउन सुरु गरिएको हो । एक डोजले कम्तीमा ८५ प्रतिशत प्रतिरक्षा शक्ति प्रदान गर्छ । दुई डोजले करिब सय प्रतिशतसम्म बालबालिका पूर्ण रूपमा सुरक्षित हुन्छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशतले खोपै लगाएका छैनन् । ९ महिनासम्म खोप लगाए पनि पूर्ण खोप लगाउने समयसम्म धेरैजसो ‘ड्रप आउट’ हुने तथ्यांकमा देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.