टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २० हजार पुग्यो

टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २० हजार पुग्यो

एजेन्सी । सोमबार गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा हालसम्म २० हजार मानिसको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले प्रकोपबाट भएको क्षतिको पूर्ण तस्विर अझै स्पष्ट नभएको जनाएको छ ।

दुवै देशमा द्रुत राहत र उद्धारको काम भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा च्यापिएका मानिस जिवित भेट्नसक्ने आशा कम हुँदै गएको छ ।

भूकम्पबाट बाँचेका हजारौं जनताका लागि कडा चिसोले नयाँ चुनौती खडा गरेको छ । बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस प्रकोपको पूर्ण तस्विर अहिलेसम्म नआएको बताए ।

एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधा सम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए । अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले दक्षिणी टर्कीका १० प्रान्तमा तीन महिनाको संकटकाल लगाएका छन् र भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.