काठमाडौं। शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुुसार विद्यालयको चिन्ह (लोगो) र नाम राख्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आग्रह गरेका छन् । महानगरको शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिन्ह (लोगो) मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको आइतबार बताएका हुन ।
विद्यालयको नाम राख्दा समाज र राष्ट्रका लागि उल्लेखनीय योगदान गरेका ब्यक्तित्व वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल र प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी नामाकरण गर्नुपर्ने उनले बताएका छन् । सबै विद्यालयहरुको चिन्हमा षट्कोण हुनुपर्ने र विद्यालयको विशिष्ट चिन्ह राख्नु परेमा षट्कोणकोबीचमा राख्न सकिने जनाइएको छ ।
यो नियम लागू हुनु भन्दा पहिल्यै नामाकरण भैसकेका विद्यालयहरुको हकमा भने यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रबाट पुनः नामाकरण गर्नुपर्ने छ । कतिपय विद्यालयले नियम पालना नगरेकाले मेयर साहले नियम पालना गर्न आग्रह समेत गगर्दै विद्यालयको नामको अन्तमा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्ने पनि नयाँ नियममा उल्लेख छ ।
संस्थागत विद्यालयहरुले आफ्नो नाममा इन्टरनेशनल शब्द जोड्न चाहेमा कम्तिमा एक तिहाई विदेशी विद्यार्थी अध्ययनरत हुनु पर्ने महानगरले जनाएको छ ।कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाई विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत हुनुपर्ने छ ।
कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा करिब २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने छ । यो नियमको पालना नभएको खण्डमा कानूनी कारबाही गर्न महानगर बाध्य हुने मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
