भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

नेताको बढुवा, सुरक्षाकर्मी र काठमाडौंका मेयरको घटुवा, विधायन समितिले ल्यायाे नयाँ मर्यादाक्रम

नेताको बढुवा, सुरक्षाकर्मी र काठमाडौंका मेयरको घटुवा, विधायन समितिले ल्यायाे नयाँ मर्यादाक्रम

काठमाडाैं । मर्यादाक्रमसम्बन्धी विधेयक पारित भएकाे छ । राष्ट्रिय सभाको विधायन समितिबाट विधेयक पारित भएकाे हाे । मर्यादाक्रममा शिक्षक पनि समेटिएका छन् । आठौँ वरीयताकाे मर्यादाक्रममा रहेका प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतालाई सातौँ नम्बरमा सारिएकाे छ । नवौँमा राखिएका मुख्यमन्त्री संघीय सरकारका मन्त्रीभन्दा पछाडि राखिएकाे छ ।

प्रदेश सभाका सभामुख १०औँ नम्बरको वरीयतामा झारिएका छन् । नवौँ स्थानमै रहेका सर्वाेच्च अदालतका न्यायाधीश ११औँ नम्बरमा पुर्याएका छन् ।  १०औँ वरीयताका मुख्यसचिव र १२औँका संसद्का महासचिव तथा सर्वोच्चका मुख्य रजिस्ट्रार १३औँ स्थानमा झारिएका छन् । प्रधानसेनापति तीन स्थान खस्किँदै १३औँ वरीयतामा छन् । प्रहरीका आइजिपी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख १६औँ वरीयतामा छन् ।

विद्यमान मर्यादाक्रममा १०औँ वरीयतामा रहेका काठमाडौंका मेयर १७औँ नम्बरमा धकेलिएका छन् । अब सबै महानगरका मेयरको वरीयता हैसियत समान भएकाे छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विशिष्ट (भिआइपी) र अतिविशिष्ट व्यक्ति (भिभिआइपी)को मर्यादाक्रममा पनि हेरफेर गरेको छ । चैत ३ गतेकाे राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गरी समितिले सोमबार पारित गरेको हो ।

उक्त विधेयकलाई समितिले अब राष्ट्रिय सभामा प्रस्तुत गर्ने जनाएकाे छ । राष्ट्रिय सभाले पारित गरेपछि उक्त विधेयक प्रतिनिधिसभामा पठाइनेछ । प्रतिनिधिसभाले पारित गरेपछि ऐनका रूपमा नयाँ मर्यादाक्रम लागू हुनेछ । समितिले सबै निकायसंग छलफल गरी सर्वसम्मतिमा विधेयक पारित गरेको हुनाले दुवै सदनबाट सहजै पारित हुने बताइएकाे छ ।

गृह मन्त्रालयको ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम’ नै हालसम्म लागू छ । यो पूर्ण नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरू गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, बेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखरकुमार सिंहले सात महिनाअघि राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका थिए ।

राष्ट्रिय सभाले १२ चैत ०७९ मा दफाबार छलफलका लागि विधेयक विधायन समितिमा पठाएको थियो । समितिको सोमबार बसेको बैठकले छलफल सकेर प्रतिवेदन पारित गरेको हो । सर्वदलीय सहमति र गृहमन्त्रीको परामर्शमा आएको गैरसरकारी विधेयकमा समितिले गरेको संशोधनमा प्रचलित मर्यादाक्रम तलमाथि गरिएको छ ।

यस्तो छ मर्यादाक्रम
१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री

४. प्रधानन्यायाधीश
५. सभामुख, राष्ट्रिय सभा अध्यक्ष
६. पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश

७. संविधानसभा अध्यक्ष, पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता
८. उपप्रधानमन्त्री, प्रदेश प्रमुख

९. संघीय मन्त्री, मुख्यमन्त्री, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, राष्ट्रिय सभा सत्तापक्ष दलको नेता, राष्ट्रिय सभा विपक्षी दलका नेता, सत्तापक्ष संसदीय दलका उपनेता, विपक्षी संसदीय दलका उपनेता, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, पूर्वउपप्रधानमन्त्री, पूर्वप्रदेश प्रमुख, संविधानसभा उपाध्यक्ष, पूर्वउपसभामुख, राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष

१०. संघीय संसद्का विषयगत समितिका सभापति, प्रतिनिधिसभाका मुख्य सचेतक, राष्ट्रिय सभाका मुख्य सचेतक, प्रतिनिधिसभाका विपक्षी दलका प्रमुख सचेतक, राष्ट्रिय सभामा विपक्षी दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका सचेतक, प्रदेश सभाका सभामुख

११. संघीय राज्यमन्त्री, सर्वोच्चका न्यायाधीश, संघीय सहायक मन्त्री, संघीय सांसद, न्यायपरिषद् सदस्य, संवैधानिक निकायका प्रमुख, नेपाल रत्न पाउने महानुभाव, महान्यायाधिवक्ता, संवैधानिक निकायका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संघीय पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, संघीय संसद्का पूर्वपदाधिकारी (नेता,सभापति,सचेतक)

१२. उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश मन्त्री, प्रदेश सभाका उपसभामुख, संघीय पूर्वराज्यमन्त्री, पूर्वसहायक मन्त्री, प्रदेश सभाका पूर्वसभामुख, संविधान सभाका सदस्य, पूर्वसांसद

१३. नेपाल सरकारका मुख्य सचिव, संघीय संसद्को महासचिव, सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार, प्रधानसेनापति

१४. प्रदेश सभाको विपक्षी दलको नेता, प्रदेश सभाको सत्तापक्ष दलको उपनेता, प्रदेश सभाको विपक्षी दलको उपनेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको नेता, प्रदेश सभाको विषयगत समितिको सभापति, प्रदेश सभाको मुख्य सचेतक, प्रदेश सभाको विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति, केन्द्रीय विश्वविद्यालयका कुलपति र सहकुलपति (प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने विश्वविद्यालयबाहेक), विश्वविद्यालयको उपकुलपति

१५. प्रदेश सरकारको राज्यमन्त्री, प्रदेश सरकारको सहायक मन्त्री, प्रदेश सभा सदस्य, प्रदेश लोकसेवा आयोगको अध्यक्ष, प्रदेश सरकारको पूर्वमन्त्री, प्रदेश सभाको पूर्वउपसभामुख,

१६. नेपाल सरकारको सचिव एवं राजपत्रांकित विशिष्ट श्रेणी वा सोसरहको अधिकृत, प्रतिनिधिसभाको सचिव, राष्ट्रिय सभाको सचिव, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सभाको सचिव, राष्ट्र गौरव पाउने महानुभाव, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक, प्रदेश लोकसेवा आयोगको सदस्य, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक

१७. उच्च अदालतको न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, महानगरपालिका प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति, विश्वविद्यालयको प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्वराज्यमन्त्री, प्रदेश सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्वसदस्य

१८. जिल्ला समन्वय समितिको उपप्रमुख, जिल्ला समन्वय समितिको सदस्य, उपमहानगरपालिका प्रमुख, महानगरपालिका उपप्रमुख, नगरपालिका प्रमुख, उपमहानगरपालिका उपप्रमुख

१९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव एवं राजपत्रांकित प्रथम श्रेणी वा सोसरहको अधिकृत, प्रदेश सरकारको सचिव, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित प्रथम श्रेणी), नेपालस्थित विदेशी कन्सुलर जनरल, विश्वविद्यालयका सहप्राध्यापक, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहबाट नियुक्त राजपत्रांकित प्रथम श्रेणीको तहमा कार्यरत अधिकृत, माध्यमिक तह प्रथम श्रेणीका शिक्षक, सार्वजनिक संस्थानका प्रमुख कार्यकारी

२०. गाउँपालिका उपाध्यक्ष, नेपाल सरकारको उपसचिव एवं राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक

२१. नेपाल सरकारको शाखा अधिकृत एवं राजपत्रांकित तृतीय श्रेणी वा सोसरहको अधिकृत, सहसेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, उपसेनानी, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, वडाध्यक्ष, प्रदेश सरकार वा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित तृतीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह तृतीय श्रेणीको शिक्षक, सहायक सेनानी रहेकाे छ ।

धेरै छलफल गरेर विधायन व्यवस्थापन समितिले विधेयक टुंग्याएको हाे । राष्ट्रिय राजनीतिमा गरिने निर्णयमा विपक्षी दलको नेताको भूमिका ठूलो हुने र प्रायः पूर्वप्रधानमन्त्रीहरू नै हुने भएकाले मर्यादाक्रममा माथि ल्याएकाे सभापति जयन्ती राईले बताइन् । काठमाडौंका मेयरलाई मात्र विशेष व्यवहार किन भन्ने प्रश्न उठेकाले सबैको स्टाटस बराबर हो भन्ने निष्कर्षमा पुगेकाे उनकाे भनाइ छ ।

संघ र प्रदेशको स्टाटस नै अलग छ । त्यसैले हरेक हिसाबले संघको मन्त्री माथि नै हुन्छ, मुख्यमन्त्री तल नै हुन्छ । मर्यादाक्रममा पहिलोपटक शिक्षक समेटेकाे उनकाे भनाइ छ । अहिले पालिकाका उपाध्यक्षभन्दा माथि शिक्षक राखेकाे भन्दै नमिलेका कुरा वर्षाैँदेखि थियो, मिलाएर संविधानको स्पिरिटमा ल्याएकाे उनकाे भनाइ छ । यी कुराहरूमा आवश्यक ठाने दुवै सदनले संशोधन गर्ने बाटो पनि खुलै राखेकाे जयन्ती राईले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.