काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन जाँदैछन्। चीनका दुई शहरको छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ र प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्। लामो समयपछि चीनले नेपालका प्रधानन्यायाधीशलाई चीनको सिनजियाङ प्रान्तमा हुने कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ।
बेल्ट एण्ड रोड इनिसिएटिभको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने पहिलो चाइना मध्य तथा दक्षिण एसियाली कानूनी मञ्चमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ असोज १२ गते काठमाडौं प्रस्थान गर्ने सर्वोच्च अदालतले जनाएको छ । चीनले हालैका महिनाहरूमा नेपालमा विभिन्न मोर्चाहरूमा आफ्नो संलग्नता बढाएको छ। विभिन्न राज्यका निकायसँग सम्पर्कमा रहन उच्चस्तरका नेता तथा पदाधिकारीलाई नेपाल पठाउँदै आएको छ भने नेपाली नेता, उच्च अधिकारी, नागरिक समाजका सदस्यलगायतलाई चीनमा आमन्त्रण पनि गरिरहेको छ।
प्रधानसेनापति शर्मा बेइजिङ–सियाङसान फोरममा सहभागी हुन अक्टोबर २७ देखि नोभेम्बर २ (कात्तिक १० देखि १६) गतेसम्म बेइजिङको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।
उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन्।
प्रधानन्यायाधीश श्रेष्ठ चीनको सर्वोच्च जन अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष झाङ जुनको निमन्त्रणामा असोज १२ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका हुन्। यस वर्ष उपराष्ट्रपति रामसहायाप्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभाका उपसभापति उर्मिला अर्याललगायत वरिष्ठ मन्त्री तथा सरकारी अधिकारीलगायतका उच्चस्तरीय चीन भ्रमणपछि उत्तरी‘ छिमेकीले नेपालको न्यायपालिका र सेनाका प्रमुखहरुलाई औपचारिक भ्रमणको निम्तो दिएको छ।
पछिल्ला महिनाहरूमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दुई उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनका विभिन्न शहरको भ्रमण गरी नेता तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गरेका छन्।
