भक्तपुर । काठमाण्डौ भ्याली मेयर्स फोरमको बैठकले पाँचवटा निर्णय गरेको छ । आइतबार भक्तपुरमा बसेको काठमाण्डौ भ्याली मेयर्स फोरमको बैठकले काठमाडौं उपतयकाको फोहर व्यवस्थापन गर्ने,उपत्यकाका सबै नगरपालिकामा ४० माइक्रोन भन्दा कमका प्लाष्टिकका झोला प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाउने लगायतका पाँचवटा निर्णय गरेको हो ।
ठकमा बोल्दै काठमाण्डौ भ्याली मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन गर्न नेपाल सरकार र नेपवेस्ट कम्पनी बीच २०११ मा भएको सम्झौता अनुसार हालसम्म कुनैपनि कार्य अगाडि बढन नसकेकोले उक्त सम्झौता रद्द गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने विष्यमा सहरी विकास मन्त्रालयमै छलफल भएको जानकारी दिनुभयो ।
फोहर मैलाका सम्बन्धमा हाल देखापरेका समस्याहरुको दीर्घकालीन समाधानका लागि सबै पालिकाको तर्फबाट कुहिने र नकुहिने फोहर घरमा नै वर्गिकरण गरी सम्भव भएसम्म स्थानीय स्तरमा नै कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गर्ने र कुहिने र नकुहिने फोहर संकलन गर्न सातामा निश्चित बार तोकि संकलन र व्यस्थापन गर्ने मेयर्स फोरमले निर्णय गरेको छ ।
त्यसैगरी उपत्यकाको फोहर मैला समस्याको दीर्घकालीन र एकरुपताका साथ समाधान गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयको संयोजकत्वमा १८ वटै पालिकाका प्रमुखहरु सदस्य रहने गरी उपत्यका फोहर मैला व्यवस्थापन उच्च स्तरीय संयन्त्र निर्माणका लागि नेपाल सरकार शहरी विकास मन्त्रालय समक्ष सिफारिस गर्ने समेत बैठले निर्णय गरेको काठमाण्डौ भ्याली मेयर्स फोरमका उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो।
स्मार्ट सिटी एवं व्यवस्थित सहरीकरणको विषयमा छलफल गर्ने एजेण्डा सहित उपत्यका मेयर्स फोरमको आगामी बैठक टोखा नगरपालिकामा बस्ने र उक्त बैठकको मिति समय र स्थानका सम्बन्धमा सचिवालयले सूचना गर्ने काठमाण्डौ भ्याली मेयर्स फोरमले जनाएको छ।
