तनहुँ । अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका शाह विरुद्ध मङ्गलवार मुुद्दा दर्ता गरेको हो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको र १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको जनाएको छ ।
गएको फागुन ११ गते नाबालिगकले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । त्यही दिन प्रहरीले शाहविरुद्ध सात, २१ गते १२ र चैत ४ गते पाँच दिनको म्याद थप गरेको थियो । पीडित १६ वर्ष कम भएका कारण शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद दाबीसहित मुद्दा दर्ता गरेको छ ।
