पाल्पा । रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बिहान आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड हुँदै वीरकोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान रानीवन नजिकै दुर्घटना भएको हो ।
घाइते हुनेमा रम्भा–४, रमाइडाँडाका २३ वर्षीय कृष्ण सारू, सोही स्थानका २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दिलबहादुर कवरमगर, १९ वर्षीय मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू रहेका छन् ।
उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भ्यान सडकदेखि दुई सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हिजो पाल्पाकै रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार बैकुण्ठेमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
