२६ जेठ २०७७ सोमबार, काठमाडौं । कोरोना भाइरसको पिसिआर रिपोर्ट नआएको भन्दै वीर अस्पतालले आइसियुमा सार्न नमानेपछि एक महिलाको मृत्यु भएको छ । फिमेल मेडिकल वार्डमा उपचाररत ती महिलाको पिसिआर रिपोर्ट नआएको भन्दै अस्पतालले आइसियुमा सार्न आनाकानी गरेर टारेको थियो ।
ती महिलाको अवस्था झन गम्भीर भएपनि अस्पतालको पिसिआर रिपोर्टको बहानामा आइसियुमा सार्न नमानेपछि बिरामीको मृत्यु भएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए । आइसियुको शैय्या खाली भएपनि बिरामीलाई आइसियुमा सार्न नमानेको उनले बताए ।
उनी चार दिनदेखि अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । आइसियुमा सार्ने क्रममै ती बिरामीको मृत्यु भएको उनको दावी छ । गम्भीर खालका बिरामीलाई पिपिई लगाई तत्काल उपचार गर्नु भनी सरकारले निर्देशन दिएपनि वीर अस्पतालले त्यसको उल्लघंन गरेको धेरै विरामीको भनाई छ ।
गम्भिर र आकस्मिक अवस्थामा रहेका बिरामीको पिपिई लगायतका सुरक्षा अपनाएर उपचार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर, वीर अस्पतालले त्यसको पालना नगर्दा समस्या भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताए । अस्पतालले पछिल्लो समय गम्भिर अवस्थाका बिरामीलाई उपचार नगरी फर्काउने गरेको पनि विरामीको भनाई छ।