प्रधानसेनापति शर्मा भारत जाँदै

प्रधानसेनापति शर्मा भारत जाँदै

काठमाडौं । १३ औं ‘इन्डो प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा भारत जाँदैछन् । भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनमा सहभागी हुन शर्मा आइतबार त्यसतर्फ जान लागेका हुन् ।

सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको र यसपटकको सहभागिता पनि त्यसैको निरन्तरता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम छ ।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औं ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन् ।

३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुनेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू नै सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.