निगरानीको अभावमा सुधार गृहभित्रै लागूऔषध, भयो झडप

निगरानीको अभावमा सुधार गृहभित्रै लागूऔषध, भयो झडप

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहबाट शुक्रबार भागेका चार जना बालक अझै फेला परेका छैनन् । बिहीबार राति सुधार गृहभित्रका बालकको दुई समूहबीच झडप, आगजनी र तोडफोडका क्रममा एक जनाको मृत्यु भएको थियो ।

१० जना घाइते भएका थिए  भने झडपकै बीच भागेकाहरू फेला परेका छैनन् । झडपसँगै भएको आगजनी र तोडफोडले शनिबार पनि सुधार गृह परिसर अस्तव्यस्त थियो । बालबिज्याइँ गरेका २ सय ५४ जनालाई यहाँ राखिएको थियो तर पछिल्लो घटनापछि त्यहाँ १ सय ८१ जनालाई मात्र राखिएको छ ।

अन्यलाई वडा तथा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । झडपका क्रममा रूपन्देहीका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको हो । सुधार गृहभित्र लागूऔषधको सहज पहुँचको विषयमा दुई समूहबीच झडपको सुरुवात भएको स्थानीयले बताए । पर्याप्त निगरानीको अभावमा सुधार गृहभित्र लागूऔषधको सजिलै पहुँच भएको र यसले हिंसा भड्काएको स्थानीयको भनाइ छ ।

झडप सुरु भएपछि बालकले भवनको सरिया र रड उखेलेका छन् । झ्यालका सिसा फोडिदिएका छन् । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत १० घाइते बालकमध्ये अधिकांशको टाउकोमा गहिरो चोट लागेको छ । उपचारमा संलग्न चिकित्सक विनोद कर्णले धारिलो हतियार प्रयोग भएको हुन सक्ने बताए ।

लागूऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले दुर्व्यसनीले लागूऔषध खोज्न अनेक उपाय निकाल्ने भए पनि सुरक्षित स्थल मानिने सुधार गृहभित्रै कसरी पुग्छ भन्ने ठूलो प्रश्न भएको बताए । सुधार गृह प्रशासनका एक कर्मचारीले गृहभित्रका कैयन् बालक लागूऔषध दुर्व्यसनमा फसेको बताए ।

दुर्व्यसनमा फसेकाहरूबीच को ठूलो भन्ने प्रतिस्पर्धा नै झगडाको कारण भएको उनले बताए । सुधार गृहकी प्रमुख विमला काउचा मगरले बालकहरूलाई सम्झाइबुझाइ गर्न प्रहरीलाई समेत सकस हुने गरेको बताइन् ।

लागूऔषध सेवनले भित्रको स्थिति खराब बन्दै गएपछि प्रहरीलाई भनेको, रोकटोक गर्न खोजे प्रहरीमाथि नै आक्रमणमा उत्रिने गरेका मगरको भनाइ छ । सुधार गृहमा जबरजस्ती करणीमा संलग्न १ सय १७ जना, कर्तव्य ज्यानका २७ जना र बाँकी अन्य विभिन्न मुद्दामा संलग्न बालक रहेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.