काठमाडौं । अनारलाई बहुउपयोगी फलका रुपमा चिचिन्छ । अनारले सदियौंदेखि औषधिका रुपमा काम गरिहरको छ । नेपाली समाजमा बिरामी भेट्न जाँदा कोसेलीमा अनार पहिलो स्थानमै पर्दछ । अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । वैज्ञानिक ज्ञानको अभावमै भए पनि नेपालीहरुमाझ चलिआएको यो चलन धेरै हदसम्म सकारात्मक छ । हालै भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानले अनारलाई ब्याक्टेरिया विनासक, भाइरस बिनासक र फंगी (ढुसी र त्यस्तै प्रजातिहरू) बिनासकका रुपमा साबित गरिसकेको छ । साधारणतया अनारको सबै भाग (फल, जरा, बोक्रा, फूल) औषधिका रुपमा प्रयोग गर्न सकिन्छ। यसमा पाइने अनेक तत्वले विभिन्न प्रकारका रोग निवारणमा मद्दत गर्न सक्छ ।
टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो मानिन्छ । अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ । अनारमा प्रचूर मात्रामा विभिन्न थरिका एन्टिअक्सिडेन्ट हुने भएकाले यसले प्रोस्टेट, स्तन क्यान्सर लगायत विभिन्न प्रकारको क्यान्सर हुनबाट बचाउन सक्छ । त्यस्तै, क्यान्सर बन्ने तरिकामा बाधा ल्याउनुका साथै बनिसकेको ट्युमरको बिनास गर्न पनि मद्दत गर्छ । आजभोलि दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ । स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ ।
अनारलाई मुटुको सहयोगीका रुपमा लिन सकिन्छ । यसमा मुटुलाई असर गर्ने कोलेस्टेरोल हुँदैन । साथै शरीरमा रहेको नराम्रो कोलेस्टेरोलाई मुटुमा हानी गर्न नसक्ने बनाउन पनि यसले भूमिका खेल्छ । त्यस्तै, अनारले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रगत सञ्चालन सहज गराउने भएकाले मुटु रोगको जोखिम घटाउँछ । अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ भन्ने मान्यता रहेको छ । अनारले मस्तिष्कलाई आवश्यक पोषक तत्व प्रदान गर्ने भएकाले अल्जाइमर रोग लाग्नबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।
अनारमा पाइने भिटामिन सी सँगसँगै अन्य एन्टिअक्सिडेन्टले छाला सुन्दर राख्न मद्दत गर्छ । यसका अलावा अनारको बोक्रामा पाइने तत्वहरुले दाँतको समस्या हटाउन मद्दत गर्छ । साथै, विभिन्न रोगीमा ब्याक्टेरिया र फंगीको विकाश हुन नदिएर थप समस्या बढ्न दिँदैन । यसका लागि अनारको बोक्रालाई सुकाएर धुलो पारेर खान सकिन्छ ।
