भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा

ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा

डोटी । सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ । यहाँ भित्रिएको ब्याण्ड बाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा सङ्कटमा पर्दै गएको स्थानीयको भनाइ छ । विवाह, ब्रतबन्ध, न्वारन तथा विभिन्न देवी देउताको पूजाआजाका बेला अनिवार्यरुपमा बजाउनुपर्ने प्रचलन रही आएको यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको हो ।

दमाहा बाजाको छुट्टै महत्व रही आएको भए पनि यसको प्रयोगमा युवापुस्ताले चासो नदिँदा दमाहा बजाउने पेशा पनि सङ्कटमा पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीयवासी दीर्घबहादुर बोगटीले बताउनुभयो । “बजारमा आधुनिक बाजा आएपछि युवापुस्ताले दमाहा बजाउन खासै चासो देखाएनन्”, उहाँले भन्नुभयो, “हिजोआज यो बाजाको प्रचलन नगण्य मात्रामा मात्र देखिने गरेको छ ।” जिल्लाका ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँघरबाटसमेत क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेको बताइएको छ ।

सुदूरपश्चिम क्षेत्र कला–संस्कृतिमा धनी छ । त्यसैले यस प्रदेशले आफ्नो मौलिक कला र संस्कृति जोगाउने प्रयत्नलाई जारी नैै राखेको भए पनि पछिल्लो समय दमाहा बाजा भने क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेको यहाँका ज्येष्ठ नागरिक बताउनुहुन्छ । सुदूरपश्चिमका नेपाली ढोली थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन परापूर्वकालदेखि चल्दै आएको छ । यो बाजा निर्माण गर्ने काम लुहार तथा सजाउने बखर्ने काम भने सार्की थरका व्यक्तिले गर्ने परम्परा रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाहका शङ्कर नेपालीले बताए ।

यस समुदायका युवा अहिले भने यो बाजा बजाउने पेशातर्फ आकर्षित छैनन् । जसका कारण दमाहा बाजा नै हराएर लोपोन्मुख अवस्थामा पुग्न थालेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी जयराज जोशीले बताए । “दमाहा बाजा संरक्षण नगरिए चाँडै लोप हुने देखिन्छ”, उहाँले भन्नुभयो, “यसलाई लोप हुनबाट जोगाउनुपर्ने उहाँको धारणा छ ।” बाह्य संस्कृति भित्रिँदै र स्थानीय कलासंस्कृति लोप हुँदै गरेको यस अवस्थामा नयाँ पुस्तालाई जानकारी गराउनका लागि पनि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने कार्यक्रम एवं मेला–महोत्सवमा दमाहा बाजा बजाउने र यससम्बन्धी सीप सिकाउने कार्यक्रको आयोजना गर्नुपर्ने डोटीका गायक तथा कलाकार सूर्यविरही साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाहिरी कला संस्कृति भित्र्याउनुभन्दा आफ्नै संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने सन्देश अहिलेको पुस्तालाई दिनुपर्छ ।” दमाहा बाजा बजाउने समुदायका युवापुस्ता भने दमाहा या पञ्चे बाजामा प्रतिष्ठा, पारिश्रमिक र भविष्य नदेखेको बताउँछन् । स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको उनीहरु बताउँछन् । आधुनिक बाजा भित्रिएका कारण आफूहरुले पुर्खौंदेखि बजाउँदै आएको दमाहा बाजा लोप हुने अवस्थामा पुगेको जोरायल गाउपालिका–५ का दमाहा बाजा बजाउने धनीराम नेपालीले बताए।

उहाँले भन्नुभयो, “जमाना नै आधुनिक बाजाको पछि लाग्यो, हाम्रो बाजा कसैले मगाउँदैनन्, बाजा नै सङ्कटमा पर्दै गएको छ ।” पञ्चेबाजा बोलाए रु ४० देखि ५० हजार तथा साना बाजा बोलाए रु २० देखि २५ हजार लिने गरेको दिपायल राजपुरका अर्का स्थानीयवासी तेजबहादुर विष्टले बताए । उहाँले भन्नुभयो, “अन्य बाजाभन्दा हाम्रो बाजा सस्तो भए पनि संरक्षण नहुँदा समस्या भएको छ, सबै गाउँपालिकाले आफ्नो ठाउँमा भएका दमाहा बाजा संरक्षण गर्नु जरुरी भएको छ ।” दमाहा बाजा नेपाली बाजा हो । यो बाजाको पिँधतिर सानो र मुखतिर फुकेको या ठूलो हुन्छ ।

तामाको भाँडोलाई भैँसीको छालाले मोहोरिएको बाजालाई सुदूरपश्चिम प्रदेशमा दमाहा नामले चिनिन्छ । यसलाई गजो अर्थात् लौरोले हानेर बजाइने गरिन्छ । यसलाई सानो खालको नगराका रूपमा पनि हेरिन्छ । यो पञ्चैबाजा समूहको ताल बाजाका रूपमा लिइन्छ । यसलाई प्रायः घाँटीमा झुण्ड्याएर बजाउने गरिन्छ । पानीले दुई दिनजति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने गड्सेराका स्थानीयवासी जोगीसिंह सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएपछि छाला नरम हुन्छ र बर्खन सजिलो हुन्छ र आवाज पनि बढी आउछ ।”

सुदूरपश्चिममा हुने हरेक शुभकार्यलगायत अन्य कार्यक्रममा गाउँघर नै गुञ्जायमान हुनेगरी विभिन्न ताल र शैलीमा उक्त दमाहा बाजा बजाउने चलन रहेको दिपायलका स्थानीय तथा समाजसेवी घनश्याम पाठकले बताए । उहाँले भन्नुभयो, “हामीले जस्तोसुकै शुभकार्य गरे पनि दमाहा बाजा नभइकन हुँदैन यसको संरक्षण गर्नु जरुरी भएको छ ।” सुदूरपश्चिम नेपालको कलासंस्कृतिसँग जोडिएको दमाहा बाजा र दमाहा बजासँगै जोडिएको नाच अहिले एकाध स्थानमा मात्र देख्न र बजेको सुन्न पाइन्छ ।

सुदूरपश्चिम नेपालका अधिकांश समुदायमा मन्दिरमा देवी देवाताको पूजापाठ गर्दा होस् अथवा विवाह, ब्रतबन्ध, न्वरान जस्ता शुभकार्य गर्दा दमाहा बाजा अनिवार्य बजाउनुपर्ने परम्परागत मान्यता रहेको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा सुदूरपश्चिमको कला संस्कृतिको पहिचान गराउने दमाहा बाजा लोप हुन थालेपछि यसको संरक्षण गर्ने अभियान शुरु गरेको बताउनुहुन्छ । यसबारेमा नयाँ पुस्तालाई जानकारी गराउनको लागि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने मेला–महोत्सवको आयोजना गरी परम्परागत बाजा तथा नाचलाई प्रोत्साहन गरिनुपर्ने उद्योग बाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताए ।

उहाँले भन्नुभयो, “पुराना कलासंस्कृति र यहाँका पुराना बाजाको निकै महत्व भएकाले सुदूरपश्चिम चिनाउने संस्कृति र बाजा संरक्षणमा हामी सबै जुट्नुपर्ने बेला आएको छ ।” दमाहा बाजाको तालमा नाचिने सुदूरपश्चिमका प्रसिद्ध नाच छलिया, ढुस्को, धमारी, चैतलगायतका मौलिक नाच पनि लोप हुने खतरा देखिएको छ । यी परम्परागत मौलिक सम्पदा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ । बालिघरे प्रथाका रुपमा पहिले दमाहा बजाएवापत अनाज अर्थात् खाद्यान्न दिने परम्परा रहेको दिपायल राजपुरका ५० वर्षीय स्थानीय सन्तकुमार नेपालीले बताए ।

उहाँले भन्नुभयो, “हाम्रो पालामा दमाहा बजाएवापत अन्न लिने चलन थियो, अहिले ब्याण्ड बाजा भन्छन्, तालसुर केही हँुदैन तर चर्को स्वरमा बजाउँछन् र पैसा लिन्छन् ।” संस्कृतिविद् नन्दकृष्ण जोशीका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा पञ्जेबाजमा सबैभन्दा बढी दमाहा बाजालाई महत्व दिने गरिएको छ । आदिकालमा भगवान् शिवले डमरुसँगै दमाहा बाजालाई पनि मन पराएपछि त्यतिबेलादेखि नै यसको प्रचलन बढेको किंवदन्ती रहेको जोशीले बताए ।

 


Thali Mobile Pvt.Ltd.