भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव

क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव

मुख्य बुँदा

सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि अभाव ।

भक्तपुर क्यान्सर अस्पतालसहित विभिन्न अस्पतालमा मौज्दात सीमित ।

भारतमा मूल्य बढे पनि नेपालमा औषधिको मूल्य समायोजन हुन सकेन ।

विगत १० वर्षदेखि औषधिको मूल्य समायोजन हुन नसकेको व्यवसायीको भनाइ ।

सरकारले केही दिनमा आपूर्ति सहज हुने दाबी गरेको छ ।

९७ वटा औषधिको मूल्य समायोजनबारे छलफल भइरहेको छ ।

काठमाडौँ, १३ भदाै । क्यान्सर उपचारमा अत्यावश्यक मानिने सिस्प्लाटिन र कार्बोप्लाटिन औषधिको बजारमा चरम अभाव देखिएको छ । पछिल्लो तीन महिनादेखि यी औषधि पर्याप्त मात्रामा उपलब्ध नहुँदा क्यान्सरका बिरामी र अस्पतालहरू प्रभावित भएका छन् ।

सरकारले औषधिको आपूर्ति सहज हुँदै गएको दाबी गरे पनि अस्पताल तथा फार्मेसीहरूमा भने सिस्प्लाटिन र कार्बोप्लाटिन सहज रूपमा पाउन सकिने अवस्था छैन ।

क्यान्सर रोग विशेषज्ञहरूका अनुसार प्लाटिनम समूहमा पर्ने यी औषधि पेट, स्तन, फोक्सो, अण्डाशय, ठूलो आन्द्रा र सानो आन्द्रालगायत विभिन्न प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुन्छन् । नेपालमा यी औषधि पूर्ण रूपमा विदेशबाट आयात हुँदै आएका छन् ।

भारतमा मूल्य बढ्यो, नेपालमा समायोजन भएन

औषधि आयातकर्ताहरूका अनुसार भारतलगायत अन्तर्राष्ट्रिय बजारमा औषधिको मूल्य बढे पनि नेपालमा लामो समयदेखि आयातित औषधिको मूल्य समायोजन हुन सकेको छैन । खरिद मूल्यभन्दा कममा औषधि बिक्री गर्नुपर्ने अवस्था आएपछि आयातकर्ताले पर्याप्त मात्रामा औषधि ल्याउन नसकेको बताएका छन् ।

काठमाडौंस्थित डीकेएम फर्मास्युटिकल्सका सुरजकुमार टिवडेवालले भारतमा औषधि महँगिए पनि नेपालमा मूल्य बढाउन नसक्दा समस्या भएको बताए । उनका अनुसार महँगोमा खरिद गरेर सस्तोमा बिक्री गर्नुपर्ने भएपछि आयातकर्ताले ठूलो परिमाणमा औषधि ल्याउन कठिन भइरहेको छ ।

सिजल फर्माका अञ्जन पुडासैनीले पनि अहिले सिस्प्लाटिन र कार्बोप्लाटिन मौज्दात नरहेको बताए । नेपालगञ्जस्थित जानकी अस्पतालमा समेत सिस्प्लाटिन उपलब्ध छैन । कार्बोप्लाटिन १५० एमजी भने सीमित मात्रामा रहेको अस्पतालले जनाएको छ ।

ठूला क्यान्सर अस्पतालमै पर्याप्त छैन औषधि

भक्तपुर क्यान्सर अस्पताल र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित देशभरका स्वास्थ्य संस्थामा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनममा आधारित केमोथेरापी औषधिको अभाव देखिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालकी फार्मेसी इन्चार्ज अनिता दुवालका अनुसार अस्पतालमा कार्बोप्लाटिन १५० एमजी र ४५० एमजी तथा सिस्प्लाटिन ५० एमजी केही मात्रामा मात्र उपलब्ध छ । तर, उक्त मौज्दात पर्याप्त नरहेको र सकिन लागेको उनले बताइन् ।

औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले पनि बजारमा सिस्प्लाटिन र कार्बोप्लाटिनको अभाव रहेको स्वीकार गरेका छन् । उनका अनुसार औषधिको मूल्य समायोजनका लागि सरकारसँग पटक–पटक आग्रह गरिए पनि निर्णय हुन नसक्दा समस्या कायम छ ।

१० वर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेन

व्यवसायीहरूका अनुसार नेपालमा विगत १० वर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको छैन । यसअघि ११७ प्रकारका औषधिको मात्र मूल्य समायोजन भएको थियो, जबकि बजारमा १० हजारभन्दा बढी प्रकारका औषधि बिक्री हुँदै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य, उत्पादन लागत र डलरको मूल्य बढ्दा औषधि आयातको लागतसमेत बढेको छ । तर नेपालमा पुरानै मूल्य कायम रहेकाले आयातकर्ताहरूले घाटा व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

सरकार भन्छ– केही दिनमा आपूर्ति सहज हुन्छ

औषधि व्यवस्था विभागकी सूचना अधिकारी सचिता जोशीले सिस्प्लाटिन र कार्बोप्लाटिनलगायत औषधिको अभावबारे आयातकर्तासँग छलफल भइरहेको बताइन् ।

उनका अनुसार यी औषधिसहित ९७ वटा औषधिको मूल्य समायोजनका विषयमा छलफल भइरहेको छ । औषधि परामर्श परिषद्को बैठकले यसबारे थप निर्णय गर्नेछ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले भने अनुदानमार्फत क्यान्सर उपचारका केही औषधि प्राप्त भइसकेको र केही दिनमा सरकारी अस्पतालमा पठाइने बताए ।

नेपालमा हरेक वर्ष २२ हजारदेखि २६ हजारभन्दा बढी नयाँ क्यान्सर बिरामी पहिचान हुने अवस्थामा उपचारमा अत्यावश्यक औषधि नै अभाव हुनुले बिरामीको उपचारमा थप समस्या निम्त्याउने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.