भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता

विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता

मुख्य बुँदा

विनाशकारी बाढीपछि राहत, उद्धार र पुनर्निर्माणका लागि राजनीतिक दलहरू एकजुट भएका छन् ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ ।

बेपत्ताको खोजी, पूर्वाधार मर्मत, विद्युत् र खानेपानी सेवा तत्काल सञ्चालन गर्न माग ।

राहत वितरणमा राजनीतिकरण अन्त्य गरी एकद्वार प्रणाली लागू गर्न सुझाव ।

विपद् व्यवस्थापनलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकता बनाउन दलहरूको जोड ।

काठमाडौँ, ११ भदाै । विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि राहत, उद्धार तथा पुनर्निर्माणका लागि राजनीतिक दलहरूले साझा प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले विपद्को समयमा राष्ट्रिय एकताका साथ अघि बढ्दै सरकारका उद्धार तथा राहत प्रयासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै उनले राजनीतिक दलहरूलाई आफ्ना संयन्त्रमार्फत राहत संकलन गर्न अनुमति दिनुपर्ने धारणा राखे । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रियस्तरमा सशक्त आवाज उठाउनुपर्ने बताए ।

उनले विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने र संकटका बेला सबै राजनीतिक दल एक ठाउँमा रहेको सन्देश दिनुपर्नेमा जोड दिए । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तीव्र र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले बेपत्ताको खोजीका लागि विशेष कार्यदल गठन गर्न तथा क्षतिग्रस्त सडक, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक पूर्वाधार तत्काल पुनः सञ्चालन गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राहत तथा उद्धारमा हुने राजनीतिकरण अन्त्य गर्नुपर्ने बताए । उनले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्न सुझाव दिए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको राहत तथा उद्धार अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा विपद्को क्षति तथा अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी दिँदै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू तथा देशबाट सहयोगको प्रतिबद्धता आएको जानकारी दिए । उनका अनुसार विश्व बैंकबाट १७ करोड अमेरिकी डलर तथा अमेरिका र एसियाली विकास बैंकबाट ५–५ लाख अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ ।

उनले बाढीका कारण झन्डै ७०० मेगावाट क्षमताका विद्युत् आयोजनामा क्षति पुगेको तथा रसुवागढीलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको जानकारी दिए । प्रभावित क्षेत्रका लागि सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने तयारी भइरहेको पनि उनले बताए ।

बैठकमा सुरक्षा निकाय तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको जानकारी दिएका थिए । सुरुङमार्ग तथा अन्य संवेदनशील क्षेत्रमा उद्धार टोली परिचालन गरिएको तथा अवरुद्ध सञ्चार र यातायात सेवा पुनः सञ्चालनका लागि काम भइरहेको उनीहरूले बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.