काठमाडौँ, १३ भदाै । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार देशका विभिन्न जिल्लामा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार आज पहाडी तथा हिमाली क्षेत्रका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने र केही स्थानमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, चितवन, कास्की, म्याग्दी र बागलुङ लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, नवलपरासी पूर्व तथा पश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, रोल्पा, रुकुम पश्चिम, जुम्ला, जाजरकोट र दैलेख भएर बग्ने साना नदीमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि त्यस क्षेत्रमा जोखिम अझै कायमै रहेको महाशाखाले जनाएको छ ।हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
विशेषगरी बेत्रावतीस्थित त्रिशूली नदीमा आगामी तीन दिनसम्म बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ ।
आज बिहान ८ बजेको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।त्यस्तै कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि तत्काल खतराको तहमा पुगेको छैन ।
तर आगामी तीन दिनसम्म प्रमुख तथा सहायक नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।महाशाखाले भोलि पनि सातै प्रदेशका केही साना नदी तथा खोलामा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने चेतावनी दिएको छ । नदी तथा खोलाको बहाव बढ्ने क्रम रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
