भक्तपुर नगरमा घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिको अवलोकन भ्रमण

भक्तपुर नगरमा घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिको अवलोकन भ्रमण

भक्तपुर । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका प्रमुख खड्गबहादुर रावतले भक्तपुर नगरपालिकाको अवलोकन भ्रमण गरेका छन् । सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घोडाघोडी नपाका प्रमुख रावतले भेट गरेका हुन । उनीहरुबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, विकास मोडलका विषयमा छलफल भएको र विकास निर्माणका विभिन्न गतिविधिहरुबारे अनुभव आदानप्रदान गर्ने कार्य भएको जनाइएको छ । भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले गुणस्तरीय प्राविधिकहरु उत्पादन गर्दै आइरहेको बताउँदै हरेक वर्ष ती दुई कलेजबाट ४३२ जना इन्जिनियरहरु उत्पादन गर्दै आइरहेको जानकरी दिए ।

उनले भने ‘सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको काम ठेक्काबाट गर्न नहुनेमा हामी स्पष्ट छौँ । भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढङ्गले गुणस्तरीय काम सम्पन्न गर्दै आउनु नै हाम्रो विशेषता बनेको छ ।’ भक्तपुर नगरपालिकाका हरेक गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले मासिक ‘भक्तपुर’, नेपाल भाषाको पाक्षिक ‘ख्वप पौ’, निरन्तर प्रकाशित गर्दै आएको र अनलाइन पत्रिका ‘भक्तपुर खबर डट कम’, ‘भक्तपुर म्युनिसिपालिटी’ फेसबुक पेज र भक्तपुर एफएम मार्फत ‘ख्वप सः’ कार्यक्रमलाई पनि निरन्तरता दिएको बताए ।

त्यस्तै घोडाघोडी नपाका प्रमुख खड्गबहादुर रावतले भक्तपुर नपाको उपभोक्ता मोडल अत्यन्त प्रभावकारी रहे तापनि घोडाघोडी नपामा उपभोक्ता समितिमार्फत काम गर्न समस्या रहेको जानकारी दिए । विकासको मूल आधार नै शिक्षालाई मानेको बताउँदै उनले घोडाघोडी नगरपालिकामा विभिन्न भाषा, संस्कृति, रीतिरिवाल तथा चालचलन भएका समुदायको बसोबास रहेको बताए । उनले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था, ख्वप अस्पताल र इन्जिनियरिङ शिक्षाबारे जिज्ञासा राखेका थिए ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवाल, घोडाघोडी नपा १ का वडाध्यक्ष घनश्याम ओझा, वडा नं. ३ का वडाध्यक्ष कृष्ण गौतम, प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यलगायतको उपस्थिति थियो । प्रमुख प्रजापतिले उक्त टोलीलाई भादगाउँले टोपी र खादाले स्वागत गरेका थिए । भक्तपुरको मौलिक मयुरको झ्याल र नपाका केही प्रकाशनहरु समेत उपहारस्वरुप प्रदान गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.