म्याग्दी । स्थानीय समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क जग्गा उपलब्ध गराएपछि मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर स्थित मङ्गलाइन्द्रेणी उद्यान निर्माण भएको छ ।
मङ्गला–२ बाबियाचौर निवासी उनले उपलब्ध गराएको मङ्गलाइन्द्रेणी उद्यान निर्माणमा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयको रु एक करोड सहयोगमा उक्त बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण कार्य सकिएपछि औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय आदि पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले बताइन् ।
स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको हुदा आफु खुसी भएको जग्गादाता अधिकारीले बताए । उद्यानको विभिन्न भागमा रेलिङ, सिँढी र शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको हुदा स्थानीय खुसी भएका छन् ।
उद्यानका लागि इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । अपुग थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख आर्थिक सहयोग गरेका छन् ।
आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यक परेपछि समग्र मङ्गलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिक रूपमा महँगो पर्ने जग्गालाई निःशुल्क उपलब्ध गराएको अधिकारीको भनाइ छ ।
निशुल्क जग्गा उपलब्ध गराएवापत अधिकारीको सम्मानस्वरुप उद्यान परिसरमा अर्धकदको सालिक राखिएको छ । सङ्ग्रहालयको नाम ‘मङ्गला खड्ग नन्द सङ्ग्रहालय’ नामकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए ।
डिभिजन वन कार्यालयले रु १८ लाख, गण्डकी प्रदेश सरकारबाट रु १६ लाख र ज्येष्ठ नागरिक आश्रय स्थलका लागि रु सात लाख बजेट उपलब्ध गराएको हो । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाख बढी लगानी गरेको जनाएको छ ।
म्याग्दी नदी किनारमा निर्माण भएको उक्त उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड–खण्ड बनाएर विभिन्न प्रजातिका फूलसमेत रोपिएको छ । उद्यान सञ्चालनमा आएसँगै यहाँ आन्तरिक पर्यटक घुम्न थालेका छन् ।
पर्यटन प्रवर्धनमासमेत टेवा पुग्ने भएकाले गाउँ गाउँमा होम स्टे हुन जरुरी रहेको स्थानीयले बताएका छन् । होम स्टे संचालनमा आएपछि घरघरमा रोजगार हुने अपेक्षा राखिएको छ ।
दिर्घकालिन रुपमा सोच बनाएर योजना पूर्वक अघि बढे यहाँ होमस्टे संचालन गर्न सकिने जेपाक्छ त्यही बिक्छ अभियानका अभियान्ता, भिलेज हाइल्याण्ड रिर्सोटका सञ्चालक एवं पर्यटन व्यवसायी रामसुन्दर बकेले बताए । पर्यटन पर्वद्धनमा हातेमालो गर्ने कैलाश खबरले जनाएको छ ।
