वागीश्वरीमा डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट कार्यशाला सुरु

वागीश्वरीमा डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट कार्यशाला सुरु

भक्तपुर । वागीश्वरी कलेज तुमचो भक्तपुरको आयोजनामा ‘डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशालाको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा समुद्घाटन भएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गोसाईले शिक्षक प्राध्यापकहरु समाजका ज्ञाता भएकाले उहा“हरुको ज्ञान स्कुल कलेजको कक्षा कोठामा मात्र सीमित नभई सिङ्गो समाजमा देखिनुपर्नेमा जोड दिए ।

हाल बजारमा पैसाको अभाव छ, स्नातक तहको कक्षामा विद्यार्थीको अभाव छ किन ? यसको व्याख्या विश्लेषण आवश्यक छ भन्दै उनले एक सफल अर्थशास्त्रीको लागि कम्युनिष्ट घोषणापत्रको अध्ययन अनिवार्य रहेको बताए ।

कुनै पनि कुराको सही व्याख्या विश्लेषणका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको यथार्थ जानकारी आवश्यक हुने भन्दै इराकका सद्दाम हुसेनले डलरमा कारोबार नगर्ने घोषणा गरेपछि अमेरिकाले उनको हत्या गरेको, लिवियाका गद्दाफीले संयुक्त राष्ट्र सङ्घको अफिस अमेरिकाबाट अन्यत्र सार्नुपर्ने विचार राखेपछि

उनको पनि हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै आज अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको घोषणा गरेपछि अफ्रिकाले पुटिनलाई स्वागत गरेको छ भने अमेरिकाले फिनलाण्डलाई जबरजस्ती नाटोमा तानेको छ ।

रिसर्च मानेज्मेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक, प्राध्यापकहरुले निरन्तर अध्ययन, अनुसन्धान र त्यसको उपयोग गर्दै अर्थोपार्जनमा लाग्नुपर्ने विचार व्यक्त गरे । भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्न आग्रह गर्दै मिहिनेतीलाई ईश्वरले पनि साथ दिने विचार व्यक्त गरे ।

कलेज व्यवस्थापन समितिका सदस्य एवं वडाध्यक्ष रवीन्द्र ज्याख्वले डाटा एनेलेसिस युजिङ आर स्क्रिप्टको सफल कार्यशालापछि अध्ययन अध्यापन थप प्रभावकारी हुनेमा विश्वास गर्दै युवा नयाँ पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गरे । आज युवा विद्यार्थीलाई कसरी कलेजमा आकर्षित गर्ने ?

कलेजमा आएका विद्यार्थीलाई कसरी टिकाउने र टिकेका विद्यार्थीलाई कसरी देशभक्ति भावनाका साथ बिदाइ गर्ने भन्ने चुनौती रहेको चर्चा गर्दै उनले कार्यशाला सामाजिक, शैक्षिक, राजनीतिक, प्राज्ञिक हरदृष्टिले डाटा एनेलेसिस गर्न सक्षम होस् भनी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक विनोद प्रजापति र उपप्राध्यापक विकल प्रजापतिले पनि धारणा राखेका थिए । बैशाख २४ गतेसम्म चल्ने उक्त कार्यशालामा सहप्राध्यापक डा. विजयलाल प्रधान र नवराज पौड्याल प्रशिक्षक रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.