भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्ण खाणले बताए ।

“सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै जाँदा विद्यालयमा बालबालिका तथा अभिभावकको आकर्षण घट्दै गइरहेको छ”, उनले भने, “सामुदायिक विद्यालयमा सरकारले गरेको लगानीअनुसारको नतिजा प्राप्ति गर्नमा सहयोग पुर्याउने उद्देश्यसहित खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्ने तयारीमा छौँ ।”

नगरभित्र १६ माध्यमिक तह र ५६ आधारभूत तह गरी ७२ वटा सामुदायिक विद्यालय रहेका छन् । बहत्तर सामुदायिक विद्यालयमध्ये पहिलो चरणमा माध्यमिक तहतर्फका आठवटा विद्यालय र आधारभूत तहतर्फका आठ गरी कुल १६ विद्यालयमा शैक्षिक योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गरिने भएको हो ।

“पहिलो चरणमा १६ वटा विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्छौँ”, उनले भने, “खुला प्रतिस्पर्धाबाट नियुक्ति हुँदा विद्यालयको शैक्षिक गुणस्तरका लागि प्रभावकारी भूमिका खेल्न सक्ने विश्वासमा छौँ ।” नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएकाले जनप्रतिनिधि तथा सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन प्रेरित गरिने उनले बताए ।

प्रअ नियुक्ति हुनका लागि शिक्षकले माध्यमिक तहमा कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको वा १० वर्ष स्थायी सेवा र स्नातक उत्तीर्ण गरेकालाई प्रधानाध्यापक नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको शिक्षा अधिकृत दुर्गा न्यौपानेले बताए । आधारभूत तहमा प्रअ हुनका लागि शिक्षा विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.