नेपालगञ्ज । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित घाटगद्दीमा रहेको सामुदायिक वनको ५२ लाख बराबरको काठ हिनामिना गरेको आरोपमा अध्यक्ष सहित आठजनालाई पक्राउ गरिएको हो।
पक्राउ परेका आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने जनाइएको छ । काठ,दाउरा बेचेको हिसाब पनि नभएको र खातामा समेत पैसा नभएको जनाइएको छ । साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको देखिएको छ । उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाइ सकेको छ ।
जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ।
