भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सिमलताल पहिरोः३ जना पौडिएर बाँचे, ‘५ पटक ठक्कर खाएर बस नदीमा पुगेको थियो’

सिमलताल पहिरोः३ जना पौडिएर बाँचे, ‘५ पटक ठक्कर खाएर बस नदीमा पुगेको थियो’

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
एक जनाको भरतपुर अस्पतालमा र दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँहरू हिजो बेलुकी साढे ७ बजे काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार हुनुहुन्थ्यो ।

उहाँहरूमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताउनुभयो । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निस्कियौँ, पौडिएर बाँच्न सफल भयौँ ।’ ‘खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उहाँले सुनाउनुभयो । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ’, उहाँले थप्नुभयो, ‘बस पानीमा धेरै मुनि पुगेको थियो ।

हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’ टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचार गरेर फर्किँदै गरेका रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादवले आफ्नो परिवारका चार जना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाउनुभयो । बसमा उहाँका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार हुनुहुन्थ्यो । काठमाण्डौमा उपचार गरेर घर फर्कँदै गर्दा उहाँको परिवारका पाँच जना दुर्घटनामा पर्नुभएको हो ।

‘काठमाण्डौमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक ठक्कर खाएर बस बल्ल नदीमा पुगेको थियो’, उहाँले सम्झिनुभयो, ‘पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।’ बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उहाँले सुनाउनुभयो, ‘जाम खुलेसँगै बिस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा बस खसेको हो ।

बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उहाँको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता ुडिस्चार्जु हुनुभएको छ । अहिले बेपत्ता बसको खोजी कार्य जारी छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यसैबीच नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेका खुलेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.