सोनाम ल्होछार घरघरमा मनाइने

सोनाम ल्होछार घरघरमा मनाइने

चितवन । तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर मनाउन लागिएको हो ।यही माघ १९ गते ल्होछार पर्व पर्दछ । नेपाल तामाङ धेदुङ्ग सङ्घ चितवनका अध्यक्ष गोपीराज घलानका अनुसार कोरोना करहका कारण स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाएकाले यसवर्ष ल्होछार घरमा नै मनाउन लागिएको हो ।

कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी मनाइने उहाँले बताउनुभयो । सामान्यतः गुम्बा, गुठीलगायतका क्षेत्रमा भेला भएर मनाउने गरिएकामा यस वर्ष राष्ट्रिय परिस्थितिका कारण समस्या आएको हो । उहाँले भन्नुभयो, “यही माघ १९ गते परेको ल्होछारमा आफन्तसँग भेटघाटसमेत हुनसक्ने अवस्था रहेन ।” यस वर्षबाट गाई वर्गको अन्त्य भई बाघ वर्ग सुरु हुने उहाँले बताउनुभयो ।जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनि सोनाम ल्होछार पर्व भव्यताका साथ मनाउने गरिएको थियो । अन्य गुम्बामा पनि यो पर्व मनाउने गरिन्छ । घलानले सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्दै घरघरमा पर्व मनाउन आग्रह गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.