कपिलवस्तु । माध्यमिक तहसम्मै निःशुल्क शिक्षा कार्यक्रम कपिलवस्तुको शिवराज नगरपालिकाले लागू गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह सम्मको शिक्षा शैक्षिक सत्र २०८० देखी पूर्ण रुपमा निःशुल्क गर्ने भएको हो ।
संविधानले आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क भने पनि विद्यालयले भने कुनै न कुनै बहानामा विद्यार्थीबाट शुल्क उठाउने गरेका गुनासो आउँदै गरेपछि उक्त नगरपालिका माध्यामिक तहसम्मै शिक्षा निःशुल्क घोषणा गरेको हो ।
पालिकाले सार्वजनिक पद धारण गर्नेका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्य नियम लागू गरेसँगै माध्यामिक निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
पालिकाले कार्यविधि तथा कानुन निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
आउने शैक्षिक सत्रबाट विद्यालयले कुनै पनि शुल्क तथा सहयोग लिन नपाउने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाका सामुदायिक विद्यालयमा माध्यमिक तह निःशुल्क कार्यान्वयनका लागि पालिकाले ५ करोड २४ लाख ५९ हजारको बजेट थप गरेको छ । १ सय ६३ जना शिक्षक बजेटबाट व्यवस्थापन गरिएको समेत नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधि, शिक्षक, सरकारी कर्मचारीहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने छ । पालिकाले शिक्षण विधि सुधारका लागि तालिमको समेत व्यवस्था गरिने र नगरको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकलाई विभिन्न तालिमको व्यवस्था गर्ने पालिकाले जनाएको छ ।
पालिकाले दरबन्दी मिलान गरी अपुग भएका विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गरेको छ । पूर्व प्राथमिक तहका ८, आधारभूत तह ७८ जना, माध्यमिक तहमा ३१ र कक्षा ११ र १२ का लागि ४३ जना थप शिक्षक नियुक्त गरिएको छ । विद्यालयलाई चाहिने मसलन्द र अन्य सामाग्री तथा विद्यूत महसुलका लागि ६० लाख बजेटको व्यवस्था गरिएको छ ।
सार्वजनिक पद धारण गरेका नागरिकका सन्तानलाई सामुदायिक विद्यालयमा अध्यापन गराउन अनिवार्य गरेको छ । समाजमा रहेका उच्च वर्गका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्दा शैक्षिक गुणस्तरमा समेत बृद्धि हुने अपेक्षाले पालिकाले गरेको छ ।
