स्थानीय पाठ्यपुस्तक ’ख्वपको पहिचान’ सार्वजनिक

स्थानीय पाठ्यपुस्तक ’ख्वपको पहिचान’ सार्वजनिक

२३ असार २०७७ भक्तपुर । नगरपालिकाबाट नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा लागु गर्ने गरी स्थानीय पाठ्यक्रम प्रभावकारी ढंगले पठनपाठनको निम्ति ‘ख्वपको पहिचान’ नामक पाठ्य पुस्तक प्रकाशनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर नपाद्वारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक सुनिल प्रजापतिले ‘ख्वपको पहिचान’ नामक पुस्तक मंगलबार एक समारोहबीच सार्वजनिकीकरण गरेका हुन ।

सोही कार्यक्रममा एसईई विद्यार्थी लक्षित भर्चुअल कक्षा व्यवस्थापनको निम्ति सहयोग गर्ने व्यवस्थापक र १८ वटा विद्यालयका २५ जना शिक्षक–शिक्षिकाहरुलाई धन्यवाद सहित मायाको चिनो वितरण गरियो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले कम्प्युटरको माध्यमबाट पठनपाठन गरिने भर्चुअल कक्षा भक्तपुर नगरपालिकाको लागि नयाँ विषय भएको र नगरपालिकाले सञ्चालन गरेको कक्षा र प्रसारणले देशभरिका विद्यार्थीहरु लाभान्वित भएको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएअनुसार भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी कक्षा १ र ६, २ र ७ समेत गरी चारवटा कक्षामा स्थानीय पाठ्यक्रम तयार गरी सोहीअनुसार अध्ययन अध्यापन भइरहेको र आगामी दिनहरुमा थप कक्षाहरुको पाठ्यक्रम निर्माणको तयारी भइरहेको बताए ।

नेपाल सरकारले लगाएको लकडाउनका कारण नगरपालिकालाई ठूलो आर्थिक भार पर्ने हुँदा भक्तपुर नपाका जनप्रतिनिधि तथा कर्मचारीहरुले बैठक भत्ता, पोशाक भत्ता र खाजाभत्ता बापत गरेको सहयोगबारे अवगत गराउँदै प्रमुख प्रजापतिले नपाभित्र सञ्चालिक विद्यालय र संघसंस्थाहरुबाट सहयोगको लागि आग्रह गरे । क्युवा, कोरियालगायतका समाजवादी देशहरुमा संकटको समयमा कसरी काम ग¥यो, कस्तो नीति अवलम्बन ग¥यो, त्यसको पनि अध्ययन गरी त्यसबाट प्रेरणा लिन आवश्यक भएको बताउदै उनले नगरको सरसफाइमा विद्यालयहरुले पनि आवश्यक सहयोगको आह्वान गरे ।

नेपालकै अग्लो भक्तपुरको ऐतिहासिक पाँचतले मन्दिर जीर्णोद्धारमा चार हजारभन्दा बढी नगरबासीहरुबाट सहयोग र लाखौं रुपैयाँ आर्थिक सहयोग प्राप्त हुनु गौरवको इतिहास भएको बताए । भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले स्थानीय पाठ्यक्रमलाई परिमार्जन गर्दै लाने उद्देश्यले पाठ्यपुस्तक तयार भएको बताइन् । नयाँ पुस्तामाझ भक्तपुरको संस्कृति र संस्काराबारे व्यवहारिक ज्ञान प्रदान गर्न यसको आवश्यक भएको उनको भनाई छ ।

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेटमा शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदामा विशेष प्राथमिकता दिएको बताइन् । कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कोभिड १९ को संक्रमण जोखिमका कारण लामो समयसम्म विद्यालय नखोल्ने स्थिति सिर्जना भए विद्यालयहरुले वैकल्पिक शिक्षण विधि अपनाउनुपर्ने हुन सक्ने बताए । स्थानीय पाठ्यक्रम कार्यदल अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पाठ्यक्रमविना नै पठनपाठन गराउन सिकाउनु स्थानीय पाठ्यक्रमको विशेषता भएको बताउँदै ‘ख्वपको पहिचान’ पाठ्यक्रमलाई सहयोग पुग्ने सन्दर्भ सामाग्री मात्र भएको बताए ।

एसईई भर्चुअल कक्षा व्यवस्थापन गर्नुहुने बागेश्वरी माविका शिक्षक ज्ञानसागर प्रजापतिले भक्तपुर नपाले सञ्चालन गरेको इसईई लक्षित भर्चुअल कक्षा स्थानीय तहले गरेको उदाहरणीय कार्य भएको बताए । कार्यक्रममा नगर शिक्षा प्रमुख हरिप्रसाद निरौलाले विद्यालय तहको सिकाइलाई सहजीकरण गर्न पाठ्यपुस्तकको आवश्यकता भएको र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पाठ्यक्रमलाई विस्तृत रुपमा पठनपाठन गराउन विज्ञसँग छलफलपश्चात ‘ख्वपको पहिचान’ पुस्तक प्रकाशन भएको बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.