काठमाडौं । संसद सचिवालयले प्रतिनिधि सभामा थप भएका नयाँ राष्ट्रिय दल र अन्य दलसमेतका लागि सिंहदरबार परिसरमा रहेको हेलो सरकार कक्षमा संसदीय दलको कार्यालय निर्माण गर्ने भएको छ ।
सचिवालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहिलो तला माग गरे पनि मन्त्रालयहरूले संसदलाई दिन अस्वीकार गरेपछि हेलो सरकार सञ्चालन हुने कक्षमा दलको कार्यालय व्यवस्थापन गर्न लागिएको हो ।
हेलो सरकार सञ्चालन हुने कक्ष उपयोग गर्न सिंहदरबार पुनर्निर्माण समितिले अनुमति दिएको छ । हेलो सरकारको कक्ष भने प्रधानमन्त्रीको कार्यालयमा सर्ने बताइएको छ ।
प्रतिनिधि तथा प्रदेश सभाको चुनावपछि राष्ट्रिय दलको संख्या बढे पछि स्थानको व्यवस्थापन जनाइएको छ । यसका लागि हेलो सरकारको कक्ष प्रयोग गर्न लागिएको हो ।
नेपाल सरकारले जनगुनासो सुन्नको लागि सञ्चालनमा ल्याएको हेलो सरकारको सामाजिक सञ्जाल भने लामो समयदेखि निष्कृय रहेको छ ।
