३३ हजार ८०२ मतभारसहित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

३३ हजार ८०२ मतभारसहित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाएका थिए । नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएको निर्वाचन कार्यालय जनाएको छ ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका हुन् ।

भिडियो…

निर्वाचनमा संघीय संसदमा राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् भने कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेका छन् ।

त्यस्तेगरी कांग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ (भ्रष्टाचार मुद्दामा दोषी ठहर )निलम्बित भएको र मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाएनन् ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । जसमा प्रदेशसभाका राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।

 


Thali Mobile Pvt.Ltd.