७९ जना नेपाली अमेरिकाकी विमानस्थलबाट फर्काइए

७९ जना नेपाली अमेरिकाकी विमानस्थलबाट फर्काइए

एजेन्सी । अमेरिका पुगेका ७९ जना नेपालीलाई अमेरिकाका विभिन्न विमानस्थलबाट फर्काइएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उक्त कुरा सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०२१ भरमा ती नेपालीहरुलाई अमेरिकाका विभिन्न विमानस्थल र पोर्ट अफ इन्ट्रीहरुबाट फर्काइएको हो ।

आर्थिक बर्ष २०२० र २०२१ को तथ्यांकमा टाइटल ४२ अन्तरगत फिर्ता गरिएकाहरुको समेत विवरण समावेश भएको जनाइएको छ । तर कति जना नेपालीहरुलाई टाइटल ४२ अन्तरगत फिर्ता गरियो भन्ने कुरा स्पष्ट गरिएको छैन । यद्यपी टाइटल ४२ अन्तरगत फिर्ता गरिएका नेपालीहरुको संख्या नगण्य रहेको विभिन्न रिपोर्टहरुले देखाएको छ ।

आर्थिक बर्ष २०२० मा ७६ जना नेपालीहरुलाई विभिन्न विमानस्थलहरुबाट अमेरिका प्रवेश गर्न नदिई फिर्ता पठाइएको थियो । यो संख्या आर्थिक बर्ष २०१९ मा ९७ रहेको थियो । त्यस्तै २०१८ मा ९६ र आर्थिक बर्ष सन् २०१७ मा ९९ जना नेपालीहरुलाई अमेरिकी विमानस्थलहरुबाट फिर्ता पठाइएको थियो ।

आर्थिक बर्ष २०१६ मा फिर्ता पठाइनेहरुको संख्या भने सबैभन्दा धेरै रहेको थियो । उक्त बर्ष २७३ जना नेपालीहरुलाई अमेरिका प्रवेश गर्न नदिई पोर्ट अफ इन्ट्रीहरुबाट फिर्ता पठाइएको थियो । २०१५ मा १९६ जना र २०१४ मा ५१ जना नेपालीलाई फिर्ता पठाइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक छ ।

यसरी फिर्ता पठाइएका नेपालीहरु आर्थिक बर्ष २०१३ मा ७७ र २०१२ मा ६७ जना रहेका थिए । अमेरिका आउने क्रममा विमानस्थलमा आइपुगेपछि गैर नागरिकहरूलाई सामान्यतया सीबीपी अधिकारीद्वारा निरीक्षण गरिन्छ जसले उनीहरू अमेरिका प्रवेशका लागि आवश्यकताहरू पूरा गर्छन् कि गर्दैनन् भनी निर्धारण गर्छन् ।

यदि सीबीपी अधिकारीले व्यक्तिले प्रवेशका लागि आवश्यकताहरू पूरा गर्दैन भनेर निर्धारण गरेमा उनीहरुलाई अमेरिका प्रवेश गर्न नदिई विमानस्थलबाटै फर्काइन्छ ।

 


Thali Mobile Pvt.Ltd.