पारागनको २१औं बार्षिकोत्सवः विद्यार्थी, शिक्षक, अभिभावकसहित पत्रकार छुकां सम्मानित

पारागनको २१औं बार्षिकोत्सवः विद्यार्थी, शिक्षक, अभिभावकसहित पत्रकार छुकां सम्मानित

भक्तपुर । भक्तपुरको पारागन एकेडेमी(इंग्लिस सेकेन्डरी स्कुल) ले सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । ‘एजुकेसन ब्रिङ्स एबिलिटी’ अर्थात् शिक्षाले शिक्षाले सक्षमता ल्याउँछ’ भन्ने मूल उद्देश्यका साथ २०५९ सालको माघ १६ गतेका दिन शिक्षाप्रेमीहरुको अगुवाइमा भक्तपुरको कमलविनायकमा स्थापना भएको सो विद्यालयले २१ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

सो कार्यक्रममा विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावकका साथै सञ्चारकर्मीलाई सम्मान, विद्यार्थीलाई पुरस्कार वितरणका साथ वार्षिकोत्सव गरेको हो । सो वार्षिकोत्सवको उद्घाटन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए । कार्यक्रममा सक्रिय अभिभावक सम्मान, वर्ष शिक्षक सम्मान, वर्ष विद्यार्थी सम्मान, निरन्तर सेवा पदक तथा विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सक्रिय अभिभावक सम्मान अन्तर्गत मावि तहतर्फ पुरुषमा स्मृति र सृष्टिका बुवा हरिकृष्ण बास्तोला, महिलातर्फ कक्षा ८ का आशिष दाहालका हजुरआमा विन्दा दाहाल सम्मानित भएका छन् । त्यस्तै प्रावि तहमा पुरुषतर्फ कक्षा ४ का लसता गैंडाका बुवा जयराम गैंडा, महिलातर्फ कक्षा ३ का आयुष तामाङकी आमा कमला तामाङ र पूर्व प्राथमिक तहतर्फ पुरुषमा कक्षा १ का अदितीका बुवा सुरज रञ्जित र महिलामा एलकेजीका रियाजकी आमा देवी अधिकारी रहेका छन् ।

सोही अवसरमा वर्ष शिक्षकमा पूर्व प्राथमिक तहकी रामदेवी मानन्धर, प्राथमिक तहतर्फ गंगा राजचल र मावि तहमा कौशला कार्की र वर्ष विद्यार्थीमा पूर्व प्राथमिकमा समर तामाङ, प्राथमिकमा सृष्टि बास्तोला र मावि तहका एन्जल बास्तोला घोषित भएका छन् । कार्यक्रममा सञ्चारकर्मी एवम् चाँगुपत्र र भक्तपुर टाइम्सका सम्पादक हरिसुन्दर छुकांलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सो विद्यालयमा ५ वर्ष, १० वर्ष र १५ वर्ष निरन्तर सेवा गरेका शिक्षक तथा सहयोगीहरुलाई सम्मान गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा निरन्तर सेवा पदक अन्तर्गत १५ वर्ष सेवा गरेका शिक्षकहरु क्रमशः पुण्यराम कवां, रजनी फैजू, बिन्दु घिमिरे, नन्दकेशरी न्हेम्हाफुकी रहेका छन् भने १० वर्ष कार्यकाल पूरा गरेका शिक्षकहरुमा सागर पराजुली, सनिता त्वायनाबासु, सन्तोषी कुँवर, श्याककुमारी बैद्य, बेनुका खड्का, सजना दुवाल, सृजना सुवाल, मिथिला लागेजू र शर्मिला बासी रहेका छन् । त्यस्तै ५ वर्षे कार्यकाल पूरा गरेका शिक्षकहरु कौशला कार्की, ज्ञानेश्वरी प्रजापति, विना सुलु, अस्मिता देउजा, रंजिता खत्री, लक्ष्मी राउत, सविना कोजू, सृजना देउजा, रामकेशरी राजचल र गंगा देवकोटा छन् ।
सोही कार्यक्रममा चालकहरु, आया दिदी तथा सहयोगी पनि सम्मानित भएका छन् ।

सम्मानित चालकहरुमा पुण्यराम ङाखुसी, विक्रम प्रजापति, तुल्सीराम प्रजापति र सविन कोजू रहेका छन् भने आया दिदीहरुमा पञ्चमाया सरु, खन्ना मगर र लक्ष्मी राई तथा सहयोगी विश्वनाथ फोजुँ रहेका छन् । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भोलिको समाज सभ्य र सुसंस्कृत बनाउन शिक्षाले भूमिका खेल्ने भएकाले शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनुपर्ने बताए । उनले भक्तपुरको शिक्षाको अवस्था सुधारका लागि भक्तपुर नगरपालिकाले विभिन्न प्रतिस्पर्धात्मक गतिविधिहरू गरिरहेको बताए ।

उनले विद्यालयलाई उदाहरणीय बनाउनका लागि मौलिकतालाई प्राथमिकता दिन सुझाव दिए । विद्यार्थीमा रहेको गुण, सीप र क्षमतालाई उजागर गर्ने काम शिक्षकले गर्नुपर्नेमा जोड दिँदै उनले भक्तपुर नगरपालिकाले शिक्षामा संस्थागत र सामुदायिक भनी विभेद नगरेको स्पष्ट पारे । नगर प्रमुख प्रजापतिले विदेशमा गएर देशको भविष्य नबन्ने उदाहरण दिँदै विदेशमा सुख नभई दुःख हुने चर्चा गरे । सोही अवसरमा उनले स्वदेशकै माटोमा भविष्य खोज्न अनुरोध गरे । कार्यक्रममा भक्तपुर नगर शिक्षा अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेंले शिक्षालाई व्यवहारसँग जोड्नुपर्ने बताए ।

उनले विद्यार्थीलाई किताबी ज्ञानका अलावा बाहिरी ज्ञानले मात्र उनीहरूको व्यक्तितब र क्षमता उजागर हुने भएकाले विद्यार्थीको मनोविज्ञान अनुसार अध्ययन गराउन अनुरोध गरे । वडा अध्यक्ष बिजुक्छेंले भक्तपुर नगरपालिकाले नियमित रूपमा विद्यालय अनुगमन गरि विद्यालयको स्तरोन्नतिका लागि आवश्यक सहयोगसहित पृष्ठपोषण गरिरहेको चर्चा गरे । यस्तै आदर्श आजाद मावि÷कलेजका प्राचार्य श्रीकृष्ण किसीले देश र जनताप्रति इमानदार हुने लक्ष्यका साथ अध्ययनमा लाग्नुपर्ने चर्चा गरे ।

उनले भक्तपुर जिल्लालाई शैक्षिक गन्तव्य र ज्ञानविज्ञानको केन्द्र बनाउने भक्तपुरवासीको सपना साकार बनाउने काममा पारागन स्कूलको भूमिका उल्लेखनीय रहेको बताए । कार्यक्रममा बालविकासविज्ञ तथा मोटिभेश्नल स्पिकर सानू अमात्यले विद्यार्थीमैत्री सिकाइले नै सिकाइलाई दिगो बनाउने भएकाले पढाइलाई दिगो बनाउन अभिभावकीय दायित्व पनि महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासुले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक, अभिभावक र स्वयम विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । त्यसका लागि ती सबै पक्षबीच सहकार्य हुन जरुरी रहेकोमा जोड दिए ।

विव्यस अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापत्विमा सम्पन्न सो कार्यक्रममा उनले विद्यालयले निकट भविष्यमै विद्यालयको भवन निर्माणको काम अघि बढाइ चार वर्षभित्र निर्माण सकाउने लक्ष्य रहेको बताए । विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको उन्नतिमा भूमिका निर्वाह गर्ने सबै शिक्षक, अभिभावक, शिक्षाप्रेमी, शुभचिन्तकहरुप्रति आभार प्रकट गरे ।

उनका अनुसार ३७ जना विद्यार्थीबाट सुरु भएको सो विद्यालयमा हाल १ हजार ८८ विद्यार्थी अध्ययनरत छन्, ७० जना शिक्षक कर्मचारी अध्यापनरत छन् । सो अवसरमा विद्यालयका ३९१ विद्यार्थी, २६ शिक्षक, ६ जना अभिभावकलाई सम्मान गरिएको उनले जानकारी दिए । कार्यक्रममा विद्यालयका मावि इन्चार्ज सागर पराजुली, शिक्षक राजेन्द्र फोँजू, विद्यार्थी एन्जल खड्का, अभिभावक प्रतिनीधि सुरेश नकर्मी, रत्नवीर किसी र बिन्दू घिमिरेलगायतले विद्यालयबारे आफ्नो धारणा राखेका थिए ।

४ सय बढी विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ आफ्नो प्रतिभा प्रस्फुटसहित वार्षिकोत्सव सम्पन्न गरेको विद्यालयमा ५० बढी जिल्लाका विद्यार्थी अध्ययनरत छन् । वार्षिकोत्सवको अवसरमा कक्षा नर्सरी देखि १० सम्मको एकेडेमिक अवार्ड, खेल सप्ताह, सक्रिय विद्यार्थी सम्मान, एसईई २०७९ सम्मान, सलिम स्मृति पुरस्कार, सुमित स्मृति पुरस्कार समेत प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.