भर्खरै : Sorry, your browser does not support inline SVG.

इतिहासको गर्भमै लुकेर बसेको रानीकोटगढी दरबारकाे थप उत्खनन् आवश्यक

इतिहासको गर्भमै लुकेर बसेको रानीकोटगढी दरबारकाे थप उत्खनन् आवश्यक

इतिहासको गर्भभित्र तैरिएको पुरातात्विक सम्पदा रानीकोट
संरक्षणमा किन बेखवर छ सरकार ?

थप उत्खननको पर्खाइमा थपक्क बसेको ऐतिहासिक धरोहर
माल पाएर के गर्नु चाल पाए पो भन्ने अवस्थामा छ, स्थानीय सरकार

स्थानीयले नै ईंटा चोरेर अस्तित्व नामेट पारेको रानीकोटगढी दरबार
भग्नावशेष हेर्दा बीणा भएर पनि भौतारिरहेको कस्तुरी जस्तो 

इतिहास बोकेर पनि गुमनाम बनेको रानीकोटगढी दरबारको अन्तर कथा खोतल्ने प्रयास गरेका छौं यो अंकमा । आधा सत्य आधा झूठ जस्तै लाग्ने ऐतिहासिक र पुरातात्विक सम्पदा रानीकोटगढी दरबारको अस्तित्व उजागर गर्ने प्रयासमा के हो त यसको वास्तविक्ता ? किन भयो अस्तित्व विहिन अवस्थामा ? के भन्छ उत्खनन् प्रतिवेदन ? रानीकोटगढी दरबारको तथ्य खोजेर भेटाएसम्मको जानकारी दिने प्रयास गरिएको छः सम्पादक

इतिहासको गर्भमै लुकेर बसेको रानीकोटगढी दरबार, जसले फिजाइरहेछ पर्यटकीय सुन्दरता
नेवारी भाषामा ख्वप नामले परिचित भक्तपुर, उपत्यकाको ऐतिहासिक र साँस्कृतिक केन्द्र हो । काठमाण्डौबाट २२ कि.मी. दुरीमा रहेको यसको पूर्वमा काभ्रे, उत्तर पूर्वमा काठमाण्डौ र दक्षिणमा ललितपुर जिल्ला पर्दछन् । पृथ्वीनारायण शाहले एकिकरण अभियान थाल्दाको बखत मितघर थियो भक्तपुर । ९० प्रतिशतभन्दा बढी नेवार र बाँकी ब्राम्हण, क्षेत्री, दलित, मुस्लिम र अन्यजातिहरुको बसोबास रहेकाे छ यहाँ ।

जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुडा र हस्तकला आदिले पहिचान बोकेको भक्तपुर, आफ्नै मौलिकतामा कुदिएको छ । बाह्रौं शताब्दी देखि पन्ध्राैं शताब्दीसम्म नेपालको राजधानी भक्तपुर १८ औं शताब्दीसम्म एक स्वतन्त्र राज्यको रुपमा परिचित थियो । बागमती प्रदेशको सबैभन्दा पुरानो सहरका रुपमा रहेको भक्तपुरबासीकाे मुख्य पेशा कृषि भएपनि व्यवसाय र हस्तकलाका सामग्रीहरु नै आम्दानीका मूख्य स्रोतका रुपमा देखिन्छ ।

तर, केही समय यता पर्यटन व्यवसाय आमदानीको प्रमुख स्रोत बन्दै गएको छ । पर्यटनका दृष्टिमा अक्टोबर र नोभेम्बर महिना पर्यटक आगमन हुने मुख्य सिजन हो भन्न सकिन्छ । याे समयमा विदेशी पर्यटक अधिक आउने गर्दछन् । विसं २०५० देखि हालसम्म ४२ लाख विदेशी पर्यटकले भक्तपुर जिल्लाको अवलोकन गरिसकेको तथ्याङ्क छ ।

जीवित सम्पदाको संग्रहालयका रुपमा रहेको भक्तपुरले नेवारी संस्कृतिको विविध आयामलाई विश्वसामु चिनाउन सफल भएको छ । मौलिक जीवनशैली, कला, संस्कार, सस्कृित,  गुठी, परम्परागत बाजागाजा र नृत्य समूहले यहाँको अमूर्त कलालाई जीवन्त बनाएकाे छ । यतिमात्र हाेइन, नाँचगानको राजधानीका रुपमा आफुलाई विश्वसामु उभ्याइरहेको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय जिल्ला
रोम शहरको उपमा पाएको त्यही सहरको परको एउटा किल्ला

मूर्त, अमूर्त अनि जीवित सम्पदाको राजधानी
जुजु धौ, भादगाउँले टोपी तथा हाकु पटासीको खानी

हुन त, धेरै मूर्त अमुर्त कलाले भरिएको जिल्लामा पर्दछ भक्तपुर । उच्च राजनीतिज्ञ, बुद्धिजीवि, कलाकार, डाक्टर र प्राध्यापक जन्माउनेमा अग्रणी स्थानमा पर्दछ भक्तपुर । शैक्षिक तथा सामाजिक क्षेत्रमा देशकै अग्रस्थानमा रहेकाे छ भक्तपुरले । सामाजिक, सास्कृितक, शैक्षिकरूपमा अब्बलता कमाएपनि आफु भित्रै रहेका कैयौं ऐतिहासिक तथा पुरातात्विक महत्वका पूर्वाधार निर्माणका क्षेत्रमा पनि अब्बलनै छ । तर, आँखै अगाडिका कैयौं साँस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्नमा भने चुकेको देखिन्छ ।

यसै मध्य ओझेलमा परेको छ भक्तपुरको रानीकोटगढी दरबार । ‘माल पाएर के गर्नु चाल पाएपो ?’ भन्ने अवस्थाको प्रतिनिधित्व गर्दछ यतिबेला रानीकोटगढी दरबारले । ६ वर्ष अघि रानीकोटगढी दरबारको प्रारम्भिक उत्खनन् गर्दा आशाका त्यान्द्रा समाएर बसेका थिए आसपासका बस्ती तथा मानिसहरुले ।

अब रानीकोटले मुहार फेर्ने भयो भनेर आशा गरेका स्थानीयलाई उत्खनन्को ६ वर्ष वितिसके पनि सिन्को समेत नभाचेपछि सरोकारवालाको अन्त्यहिन जात्रा मात्रै भेटिन्छ यहाँ । पूर्ण उत्खनन् कहिले गर्ने हाे कसैलाई थाहा छैन ? तैपनि, यात्राले सार्थकता पाउला कि भन्ने आशमा बसिरहेका छन् रानीकाेटगबासी ।

कागजी खोस्टामा लिपीवद्ध भएको छ रानीकोटको कथा । तर, यसले अगाडिको यात्रामा सारथी नपाएपछि गुम्सीएर बसेको छ । करोडौ पैसाको खोलो बगाएपनि हातलाग्यो शुन्य भने जस्तै राज्यको कार्यशैलीले रानीकोटको मुहार फेरिएला भन्न त शंकै लाग्छ । तर, पर्यटक सामु सुन्दरता फिजाइरहेकाे रानीकोटगढी दरबारको दुर्दशाबारे राज्य हाँक्न बसेकालाई भने यसबारे सोच्ने फूर्सद छैन ।

पुरातत्व विभाग दरबारस्क्वायर देखि सिहंदरबारसम्मलाई रानीकोट क्षेत्रको अन्त्यहिन यात्राले कहिल्यै छोएन ।  अभावको तलाउमा ढुंगा हानेर भोट असुल्न कुशल छ नेपाली राजनीति । त्यही भएर होला, चुनावी माहोलमा भोट बटुल्न गजबको मसला बनेको छ रानीकोटगढी दरबार यतिबेला ।

रानीकोटगढी दरबार र यसको दुखान्त कसरी शुरु भयो ?
प्राकृतिक सुन्दरताले भरिपूर्ण, ऐतिहासिक, पुरातात्विक र सामरिक महत्व बोकेको रानीकोटको थप रहस्य पत्ता लगाउन स्थानीयले उत्खननकाे आवश्यक्ता ठाने । तत्कालीन पुरातत्व विभागका महानिर्देशकसंग बिन्ती पत्र चढाए । राजाले बक्सिस गरे जस्तै गरी विभागले पनि २०७४ मंसिर १० गते गढीको उत्खनन् गर्ने प्रतिवद्धता जनायो ।

रानीकोटबासी अब उत्खननले उचाइ चुम्ने भयो भनेर खुशी भए । उक्त योजना मुताविक मंसिर १० गते देखि १६ सम्म एक हप्ता लगाएर विभागले स्थानीयको सहभागितामा उत्खनन् त ग¥यो । तर, गहिराइसम्म नपुगेरै झाडा टार्ने काममा सिमित भयो । याे स्थानमा रानीकोटगढी दरबार थियो भन्ने कुराको नजिक पुग्याे र भन्याे अब थप उत्खननकाे आवश्यक्ता छ । प्रारम्भिक उत्खननमै पुरातत्वले विट मारिदियाे ।

उत्खननकाे गहिराईंसम्मै विभाग पुग्छ भनेर आश गरेका स्थानीयको आश, आशमै सिमित राखेर विभाग पन्छि दियो । थप उत्खननकाे आश देखाएर फर्किएकाे पुरातत्व विभाग थप उत्खनन्मा कहिले जुट्ने हो त्यो भने कसैलाई थाह छैन ।

रानीकोटगढी दरबार उत्खन प्रतिवेदन खेस्रा र इँटा, ढुंगा, झिंगटीको नाप

के छ त  दरबारको वास्तविक्ता ?
के भन्छ पुरातत्वको प्रारम्भिक प्रतिवेदन ?
२०७४ मंसिर १० देखि १६ गते सम्मको प्रारम्भिक उत्खनन् प्रतिवेदन अनुसार रानीकोट थुम्कामा मल्ल राजाकी एक रानी दरबार बनाएर बसेको तथ्य बाहिर त आयो । तर यस भित्र लुकेको तथ्य बाहिर आउन अझै सकेको छैन । प्रारम्भिक उत्खनन्ले पूर्ण रिर्पोट बाहिर ल्याउन नसकेपनि  दरबार अस्तित्वमा रहेको उल्लेख गरेकाे छ ।

भुपतिन्द्र मल्ल वा रणजीत मल्ल, कसकी रानी हुन ? भन्ने कुराकाे एकिन नगरेपनि पुरातत्वको प्रतिवेदनले एक मल्ल रानी दरबार बनाएर बसेको तथ्य पत्ता लगाउनु पनि ठूलाे सफल्ता नै मान्नु पर्छ । लाेकयुक्ति अनुसार भुपतिन्द्र मल्लकी सबैभन्दा सुन्दरी रानीले प्राकृतिक सुन्दरतामा रमाउन एक दिन यही थुम्कोमा घुम्न आउँदा सारै शुसी र प्रफुलित भएको र पछि यहीँ दरबार बनाए बसेको भन्ने कथन छ ।

सुरक्षाका दृष्टीले उत्तम रहेको यो थुम्कोमा गढी बनाएकाले ती सुन्दरी रानीको नजर यही स्थानमा गढेकाे र पछि गढीपरिसरमै दरबार बनाउन लगाएको भन्ने प्रचलन छ । रानीसंगै सम्बन्धित बारी, कुवा, घोडा चरने ठाउँ, रानीले नुहाउने कुँवा, धोबिखोला अस्तित्वमै रहेकाले पनि यहाँ दरबार थियो भन्नेकुराकाे पुष्टी हुने सस्कृतिविद् प्रा.डा. पुरुषात्तमलोचन श्रेष्ठ बताउछन् ।

गढीपरिसरमा प्रागऐतिहासिक ढुंगे उपकरण फेला पर्नुले यसको ऐतिहासिक महत्व अझ बढेर गएको उनको भनाइ छ । मल्ल रानीले गढी दरबार बनाएर बसेकोले यसलाई मल्लकालको हाे भनेर व्याख्या भएपनि गढीकाे अझ थप महत्व र रहस्य रहेको श्रेष्ठ बताउँछन् ।

प्रागऐतिहासिक ढुंगे उपकरण (शिकार गर्ने बन्चरो) फेला पर्नुले यसको महत्व मल्लकालिन त छनै, उक्त उपकरणले लिच्छवी कालिन महत्वसमेत झल्काउने तर्क श्रेष्ठकाे छ । रानीकोटगढी दरबारको फेदीमा सो उपकरण फेला परेको र त्याे करिब ३५० वर्षको इतिहास बोकेको दाबी उनकाे छ ।

त्यसैले रानीकोटगढी दरबार थियाे भन्नेमा दुईमत नभएपनि यसकाे थप उत्खनन् हुन जरुरी रहेको प्रा.डा. पुरुषात्तमलोचन श्रेष्ठले बताए । प्रा.डा. श्रेष्ठ, लोकयुक्ति, प्राप्त विवरण र यहाँबाट प्राप्त ईंटा, झिंगटी एवम् माटोको परिक्षणको विश्लेषणबाट पनि यहाँ रानीकोटगढी दरबार थियो नै भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

रानीकोटगढी दरबार उत्खनन्मा भेटिएका इँटा, ढुंगा, वृत्ताकार खाडल र वास्तु

पुष्टयाई गर्ने आधारः
रानीकोटगढी थुम्को वरिपरिका इँटा, ढुंगा, वृत्ताकार खाडल र वास्तु अन्वेषण, भग्नावशेष र छरपस्ट भएका छन् भनेर इतिहासकार प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको पुस्तक ‘अनन्तलिङ्गेश्वरमा’ उल्लेख गरिएको छ । रानी बस्ने दरबार र किल्ला भएकाले यो स्थानको नाम रानीकोट रहन गएको हो भनेर पुष्टयाई पनि उक्त पुस्तकमा गरिएको छ ।

याे भन्सार चौकीसमेत रहेकाले यस किल्लाकाे सामान्य मर्मत गरी गोर्खालीहरूले उपत्यका जित्न यसैलाई उपयोग गरेको तथ्य उक्त पुस्तकमा खुलाइएको छ । यसले पनि यहाँ रानीकोटगढी दरबार नै थियो भन्ने पुष्टयाई गर्ने आधार भेटिन्छ । याे क्षेत्रमा केही वर्ष अघिसम्म ढिकी, जाँतो र मूर्ति फेला परेको तथा रानीले नुहाउने कुँवा, धोबिखोला अहिले पनि यथावत रहेकोले रानीकोटगढी दरबार थियाे भन्नेमा स्थानीयकाे पनि दाबी छ।

कुन राजाकी रानी हुन् भन्ने एकिन नभएपनि एक मल्ल रानी दरबार बनाएर बसेकी हुन भन्नेमा पुरातत्व पनि सहमत छ । गढी स्थापना गरेर दरबारको सूरक्षा प्रदान गरिएको उत्खनन् प्रतिवेदनले बोल्नुले पनि यहाँ दरबार थियो भन्न पुष्टयाइ हुन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण र सुरक्षाका दृष्टीले अतिसंवेदनशील तथा उक्तम स्थान हुनुले मल्ल रानीको नजर यसठाउँमा गढेको हुन सक्ने प्राप्त सामाग्रीले पनि पुष्टी गर्ने प्रसस्त आधार भेटिन्छन् ।

पुरातत्व अधिकृत विष्णु पाठक, सुशील कुमार गौतम र सस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ नेतृत्वको उत्खनन् टिमको प्रतिबेदनले ऐतिहासिक रानीकोटगढी दरबारको महत्वलाई उजागर गरिदिएको छ । त्यही भएर पनि यस गढी दरबारकाे थप उत्खनन् औल्याइनुले यसको रहस्य अझै गर्भमा लुकेको पुष्टि हुन्छ ।

यसरी सफल भयाे पुरातत्वकाे उत्खनन् ?
पहिलाे दिनः पुरातत्व अधिकृत विष्णु पाठक, सुशील कुमार गौतम र सस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठसहितकाे उत्खनन् टिमले रानीकोटगढी थुम्कोमा प्लास्टिककाे तृपाल विच्छाएर ४८ वटा माटोका टुक्राकाे नमुना परिक्षण (Pottery pieces lab examination) का लागि संकलन गर्‍यो ।

Section Drawing का लागि पहिलो Trench को E–s facing wall  को चयन गर्‍यो । रानीकोटगढी दरबार परिसरबाट वि.सं. २०२३ साल ताका एउटा तरबार भेटियो । ३१ से.मी. लामो र ३.५ से.मी. चौडा उक्त तरबार मल्लकालिन भएको हेर्न पाउनु उत्खनन् टिमका लागि ठूलाे सफल्ता थियो ।

उत्त तरबारको १७ से.मी. बीँड तथा ७.५ से.मी गोलाकार व्यास रहेको छ । टिमले सुरुको दिनमा १० मीटर लम्बाइ २ मीटर चौडाइ पूर्व पश्चिम फैलिएको ट्रेन्चको नाप लियो । सतहमा छरिएर रहेका इँटा, झिंगटी, ढुंगा र माटाेका टुक्राहरु निकाल्यो । परिक्षणले यी मल्लकालिन संरचनाका अवशेष हुन् भन्ने प्रमाणित पनि भयो ।

दोस्रो दिनः ट्रेन्चको ३० से.मी गहिराईसम्म जाँदा २४ से. मी. लम्बाइ, १४ से. मी. चौडाइ र ७ से.मी माेटाई, १९ से.मी. लम्बाइ १२ सेमी चौडाइ ६ से.मी. उचाईं तथा २० से.मी. लम्बाइ १५ से.मी. चौडाइ र ५ से.मी. माेटाइका इँटाहरु भेटायो । अझै गहिराई सम्म पुग्दा १५ से.मी. लम्बाइ, ११ से.मी.चौडाइ, २.५ से.मी. मोटाइ, २० से.मी. लम्बाइ, ११ से.मी.चौडाइ , २ से.मी. मोटाइका झिंगटी भेटिए ।

तेस्रो दिनः २०७४ मंसिर १२ गते मंगलबारका दिन उत्खनन् टिमले ८० से.मी गहिराईसम्म पुगेर नाप लिदा २.५० से.मी. लम्बाइका इँटा भेटिए । एवं रितले उत्खनन् कार्य अगाडि बढ्दै जाँदा पुरातात्विक सामाग्री खाँदिएर रहेको भेटियो । यसरी उत्खनन्मा भेटिएका वस्तुहरूकाे परिक्षण र विष्लेषणका आधारमा यहाँ रानीकोटगढी दरबार थियो भन्ने पुष्टी हुन्छ ।

२०७४ मंसिर १० गते देखि १६ गते सम्म पुरातत्व विभागले गरेको प्रारम्भिक उत्खनन्ले रानीकोटगढी दरबारको अस्तित्व मात्रै उल्लेख गरेन, स्थानीयले चासोका थप उत्खनन्को माग गरीआएमा प्राप्त वस्तुको संरक्षण गर्दै थप उत्खनन्का लागि कुनै कसुर बाँकी नराख्नेगरी विभागले उत्खनन् गर्ने शाखाका प्रमुख एवं प्रवक्ता रामबहादुर कुँवरले बताए ।

प्राप्त तथ्यलाई विश्लेषण गर्दै रानीकोटगढी दरबारको मात्रै नभएर आसपासका अन्य थुम्कामा रहेका साना साना गढीहरुको पनि उत्खनन् गरिनु पर्ने पर्यटन व्यवसायी एवं ‘जे पाक्छ, त्यहि बिक्छ’ अभियानका अभियान्ता रामसुन्दर बके बताउँछन् । उत्खनन् कार्यमा नगरपालिका र स्थानीयले जाँगर चलाउने हो भने दरबारको अस्तित्व पुनःस्थापित हुने र रानीकोटबासीको पहिचान नै बदलिने उनको दाबी छ ।

उत्खनन् प्रतिबेदनमा पुरातात्विक पर्यटनसंग जाेडिएकाे रहस्यलाई सुन्दर ढंगबाट उजागर गरिएको छ । त्यसको महत्व बुझेर तीनवटै जिल्लाका नगरपालिकाहरू अगाडि बढे नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने बकेकाे दाबी छ ।

बकेले भने जस्तै यसकाे पर्यटकीय महत्व र रानीकाेटगढी दरबारसंग जाेडिएकाे कुरा लगेर कैलाश खबरकाे टिम सूर्य विनायक नगरपालिका पुग्याे । रानीकाेटगढी दरबार सूर्यविनायककाे मात्रै नभएर यो क्षेत्र भक्तपुर, काभ्रे र ललितपुर जिल्लाकाे तीनवटै नगरपालिकाको प्रमुख पर्यटकीय महत्वकाे क्षेत्र भएकाले पुरातत्व विभागसँग मिलेर संरक्षणमा जुट्ने सुर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताए ।

उनीहरुले भने जस्तै रानीकोटगढी दरबारको ऐतिहासिक अस्तित्वसंग पर्यटन पनि जाेडिएकाले यसकाे रहस्य थप उजागर गर्दै पुरातत्विक पर्यटनसंग संगै अघि बढेमा  पनि यसले नेपालको पर्यटनमा ईंटा थप्ने निश्चित छ ।

ट्रेन्च बनाएर रानीकोटगढी दरबार उत्खनन्मा भेटिएका इँटा, ढुंगा, वृत्ताकार खाडल र वास्तु

उत्खनन्ले मुर्तरुप लिन नसक्दा स्थानीय चिन्तित
विभाग भन्छ, ‘थप उत्खनन् आवश्यक छ ।’

सूर्यविनायक नगरपालिका र रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको अगुवाइमा पुरातत्व विभागले रानीकोट गढी दरबारको प्रारम्भिक उत्खनन कार्य २०७४ मंसिर १६ गते सम्पन्न गरेको हो । रानीकोटगढी दरबार हाल भग्नावशेषका रुपमा परिणत भएकाे छ । याे दरबारका इटा, ढुंगा, झिंगटीहरू स्थानीयले चाेरी गरेर सयाैं गाेठहरू निर्माण गरेकाे स्थानीय बताउँछन् ।

उत्खनन कार्यको शुभारम्भ गर्दै पुरातत्वविद्हरुले यहाँ मल्लकालीन दरबारको संरचना भेटिनुले यसकाे थप अध्ययन र अनुसन्धान आवश्यक रहेकाे र स्थानीयले  संरक्षणमा पहल गर्नुपर्ने बताउँदै विभाग पन्छियाे । तर, स्थानीयले यसकाे संरक्षणमा चाँसाे दिएकाे देखिएपनि प्रयाप्त भने छैन ।

‘हिड्दै छ पाइला मेट्दै छ’ भनेजस्तै रानीकाेटगढी दरबारको सतहमा देखिएका इँटा, झिँगटीलगायतका अन्य सामग्री एवं दरबार क्षेत्रमा बाघ भैरव, रानीकुँवा, ध्याम्पे डाँडा, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर आसपासमा हुनु र यहाँ फेला परेको नवपाषण हतियारले रानीकोटगढी दरबारलाई ऐतिहासिक मल्लकालीन अवस्थाकै झल्को दिने गरी पुनः निर्माण गरिए रानीकाेटकाे मुहार फेरिने निश्चित छ ।

त्यसाे गरिएकाे खण्डमा पुरातात्विक पर्यटनको अवलोकन गर्न विदेशी पर्यटक हुल बाँधेर यहाँ घुम्न आउनेमा दुइमत नहुने जानकार बताउछन् । उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाको केही भूभागको यसठाउँबाट सहजै अवलोकन गर्न सकिने भएकाले यसकाे महत्व अझ बढेर गएकाे छ ।

पूर्वमा आशापुरी महादेव, पश्चिममा अनन्तलिङ्गेश्वर, उत्तरमा केदारनाथको शीर डोलेश्वर र दक्षिणमा मुरलीश्वर महादेव भएकाले यसको दर्शन गर्न याे छोटो दुरी पर्दछ । त्यनिमात्रै हाेइन, यस क्षेत्रमा जैविक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा, खरायो दुम्सी बँदेल, बट्टाई, लामापुछुरे चरा, नेपालमा मात्र पाइने भ्याकुर, अन्य पंक्षी र जंगली जनावरहरू पाइन्छन् ।

सुरूमै  सूर्यविनायक गणेश मन्दिर दर्शन गरेर रानीकाटगढी दरबार पुग्न सकिन्छ । दक्षिणमा फूलचोकी मन्दिर र ऐतिहासिक बाघ भैरवको मूर्ति पनि अवलोकन गर्न सकिन्छ । बिहान सूर्योदय र साँझ सूर्यास्त नजिकैबाट नियाल्न सकिने भएकाले यहाँ आउने पर्यटकका लागि पनि दरबार निर्माणगरी गढी आसपासमा सार्वजनिक शौचालय, खानेपानी, आरामदायी विश्रामस्थल, सडक कालोपत्रे, पिकनिक स्थल, भ्यु टावर, सिंढीको दायाँबायाँ रेलिङ र वरीपरी लभपार्क निर्माण गर्न सके यसको महत्व अझै बढेर जानेछ ।

रानीकोटगढी दरबार उत्खनन्मा भेटिएका इँटा, ढुंगा र झिंगटीका टुक्राहरू

उत्खनन्ले मुर्तरुप लिनुको साटाे किन सेलायो ?
थोरै लगानीमा पुरातत्व विभाग र सूर्यविनायक नगरपालिकाको सहायतबाट प्रारम्भिक उत्खनन् थालिएपनि यसले मूर्तरुप लिनको सट्टा सेलाउदै गएको छ । थप उत्खनन्को आवश्यक्ता पुरातत्वले औल्याए पनि यसको न कसैले अनुगमन गरेको देखिन्छ, न त नियमन नै गरेको देखिन्छ । नगरपालिका पनि मुकदर्शक भएर बसेकाे भान हुन्छ ।

संरक्षणका लागि स्थानीयले बेला मौकामा भएपनि सरसफाइ गरेर जाँगर चलाएको जस्तो छनक देखिन्छ । जुन पर्याप्त छैन । हो, स्थानीय सरकारले आफ्नो अपनत्व देखाएर सत्रौं र अठारौं सताब्दीका यस्ता संरचना पुन निर्माणमा जुटे इतिहासको गर्भमै तुहिने अवस्थामा पुगेका यि संरचनाले मूर्त रूप लिनेछ ।

विशेष चाँसोका साथ हेरिनु पर्ने यी ऐतिहासिक संरचनामा प्रदेश र केन्द्र सरकार बेखबर बने पनि स्थानीय सरकारले अपनत्व लिए यसकाे लाभ पनि नगरपालिकाले लिने छ । तर त्यसो गर्नेमा शंका नै छ । एकले अर्काकाे मुख ताक्दै बस्ने हाे भने छोरा, नातीको पालामा पनि रानीकोटगढी दरबारले मुर्तरुप लिन सक्ने छैन ।

व्यवसायीको नजरमा रानीकोटगढी दरबार
तीन जिल्लाकाे सामरिक महत्व तथा ऐतिहासिक विशेषता बोकेको रानीकोटगढी दरबारको थप उत्खनन् हुन जरुरी रहेको पर्यटन व्यवसायी बताउँछन् । मल्लकालिन शैलीमा रानीकोटगढी दरबारलाई पुनः निर्माण गर्नु पर्ने बरू त्यसकाे लागि सहयाेग गर्न पनि तयार रहेकाे व्यवसायी बताउँछन् ।

सुन्दरी रानीहरु घुम्ने, बस्ने र रमाइलो गर्ने उपयुक्त ठाउँ भएकाले अहिले त्यसको अस्तित्व झल्कने गरी लभपार्कको रुपमा विकास गरेर लैजानु पर्ने पर्यटन व्यवसायी रामसुन्दर बके बताउँछन् । लिच्छबी र मल्लकालिन शैलीको झल्को दिने गरी दरबार बनाउन सके यसको फाइदा अनेकौं हुने उनको दाबी छ ।

पुरातात्विक पर्यटनको विशेष्तालाई बुझेर रानीकोटगढी दरबार निर्माण गरिए दरबार हेर्नकै लागि पनि आन्तरिक तथा विदेशी पर्यटक थामी नसक्नुको घुइँचो लाग्ने उनकाे विश्वास छ । तर, महत्वलाई बुझेर यसको विकासमा ध्यान दिन सकिएको छैन । उत्खनन् गरेकै ६ वर्ष वित्यो तर, त्यसले विकासमा थप टेवा  पु¥याउन सकेकाे देखिएन । उत्खनन्मा भएको लापरवाही र समुदायले देखाएको निस्क्रियताका कारण रानीकोटगढी दरबारले अस्तीत्व नै लुकाएर बसेको छ ।

संरक्षणको पर्खाइमा रानीकोटगढी दरबार
रानीकोटगढी दरबारले स्थानीयको थप सक्रियता खोजिरहेको छ । हरेक हिसाबले महत्व बाेकेकाे यस क्षेत्रकाे पुरातत्व विभाग र सरकारले अविलम्व थप उत्खनन् गरी मल्लकालिन संरचनामा पुनः निर्माण गर्ने हिम्मत गर्नै पर्छ । पर्यटनको प्रचुर संभावना बोकेको रानीकोटगढी दरबार संरक्षणमा जुटे यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्नेछ ।

उत्खनन् गरेकाे पनि ६ वर्ष पुरा भइसक्यो तर, यहाँ नत कुनै मल्लकालिन संरचना निर्माण भयाे, नत यसको संरक्षण । नारामा मात्र रानीकोटगढी दरबार सिमित भयो । मल्लकालिन संरचना निर्माण गरि पुरातात्विक पर्यटनलाई स्थापित गर्ने हो भने, यसले पर्यटनमा आमुल परिवर्तन ल्याउने निश्चित छ ।

त्यति मात्र होइन, तीन वर्ष अधि तीन वटै नगरपालिकाका जनप्रतिनिधि र साँसदहरूलेसमेत भिलेज हाइल्याण्ड रिर्सोटमा गरेकाे गहन छलफलले तयार पारेको गुरु योजनाले पनि सार्थक रुप लिन सक्ने छ । उक्त छलफलले स्थानीयमा उर्जा त थप्यो नै, जसले गर्दा सरसफाई कार्यलाई अगाडि बढाएको छ र वर्षैपिछे संरक्षण गर्नु पर्छ भन्ने चेत पनि खुलाएको छ ।

हुनत, राज्यले पर्यटनका ठुलठूला कुरा गरेपनि कार्यन्वयनको पाटो कागजमै सिमित राखि दिदा कयौं यस्ता योजना अपुरो हुने र सरकारी नारा निरर्थक बनिरहेने पुरानै शैली हो । कार्यान्वयनमा राज्यको यस्तै कार्यशैलीका कारण रानीकोटगढी दरबार पर्यटन विकासको कुरा एकादेशको कथा जस्तै लाग्न थालेको छ ।

जसका कारण यस्ता संरचना हराउँदै जाने हो कि भन्ने चिन्ताले स्थानीयलाई सताएको छ भने, जनप्रतिनिधि र कर्मचारीलाई कमाई खाने भाँडो बनेको यथार्थता यी छरिएर रहेका दुखान्त दृश्यले पनि प्रस्ट्याइरहेको छ । ‘हिड्दै छ पाइलो मेट्दैछ’ भने झै रानीकोटगढी दरबारका इँटा, टायल र झिंगटी चोरी हुनुले पनि दरबारको अस्तित्व नामेट भएजस्तै स्थानीय र सरोकारवालाले मन मारिदिदा पर्यटनले गतिलिन सक्ने छैन ।

त्यसैले रानीकोटगढी दरबारको पौराणिक अस्तीत्व ल्याउन पहल हुनु भन्दा पनि सरकारी काम ‘अन्धाले दाम्लो बाट्दै छ बाछोले दाम्लो चपाउदै छ’ भने झै भएको छ । सम्बन्धित निकायको कछुवागति पाराले रानीकोटगढी दरबारको नाम निशाना अझ मेटिने हो कि भन्ने चिन्तामा छन् स्थानीय ।

प्राचिन गढी, स्मारक, पाटी, पौवा र दरबारले संरक्षण नपाएर अस्तित्व गुमाइरहेका कैयौं उदाहरण छन् । त्यही उदाहरणको बलियो प्रमाण बन्न थालेको छ यो मल्लकालिन संरचना । यसको सही उपयोग र संरक्षण तथा पुनःनिर्माण नहुनुमा यहाँको बलियो नेता र मन्त्रालयमा भरपर्दाे कर्मचारी नहुनु पनि हो भन्न सकिन्छ ।

हो, आँखै अगाडिको यो संरचान एका देशको कथा जस्तै हुनु दुःखद पक्ष हो । यस क्षेत्रमा राजनैतिक दलका नेता कहिल्यै जादैनन्, गएपनि कार्यकर्ता भेटघाट र भोट हत्याउन मै तल्लिन हुने गरेको स्थानीको गुनासो छ । त्यसैले जनतालाई मक्ख पार्ने नाराले होइन, त्यसका लागि गुरु योजना बनाएर अनियमितरुपमा अतिक्रमण भएका क्षेत्रहरुको यथार्थ छानबीन गरि अविलम्ब संरक्षण र व्यवस्थापन गर्नुपनि राज्यको दायित्व हो । होइन भने, खोक्रो आदर्श र उदारो लोकपृय नाराको कुनै तुक हुने छैन ।

(कैलाश खबरका लागि रानीकाेटगढी दरबार भक्तपुरबाट रक्तिम दैलेखीकाे रिर्पाेट)

 

 


Thali Mobile Pvt.Ltd.