काठमाडौं, २८ भदौ । मलेसिया रोजगारीमा सिन्डिकेट हुन लागेको आशंका गर्दै सरकारले केही वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।
वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई उक्त प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको छ ।
विभागले ती संस्थालाई आफू प्रणालीबाट बाहिरिएको तथ्यगत जानकारी प्रमाणसहित पेस गर्नसमेत निर्देशन दिएको छ । साथै, नयाँ रूपमा उक्त प्रणालीमा आबद्ध नहुन पनि भनिएको छ । यससँगै ती मुख्य संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका २५० वटा वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको विभागले जनाएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा २०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विभागले पछिल्लो कदम चालेको हो ।यसअघि मलेसियाले नेपालबाट श्रमिक लैजाने क्रममा २५ वटा म्यानपावर कम्पनीलाई मात्र मुख्य संस्थाका रूपमा सूचीकृत गरेको थियो ।
सीमित संस्थामार्फत मात्र श्रमिक पठाउने व्यवस्था सिन्डिकेट भएको भन्दै वैदेशिक रोजगार व्यवसायीले विरोध गर्दै आएका थिए । मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषयलाई दुई देशबीचको सरकार–सरकार संवादमार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहल भइरहेको जनाएको छ ।
सरकारले मलेसिया रोजगारीलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले सम्बन्धित पक्षसँग आवश्यक समन्वय तथा छलफल अघि बढाइरहेको जनाएको छ ।
