भर्खरै : Sorry, your browser does not support inline SVG.

शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै

शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै

धादिङ, २८ भदौ । रसुवामा आएको बाढीका कारण त्रिशूली नदीमा आएको तीव्र बहावले सडक कटान गरेपछि क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार सडकखण्ड खोल्न नेपाली सेनाले काम तीव्र बनाएको छ ।

नदी कटानका कारण सडकको ठूलो भाग भासिएपछि तत्काल पर्खाल निर्माण गरेर सडक सञ्चालन गर्न कठिन भएपछि नेपाली सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरिएको हो । सेनाको प्राविधिक टोलीले क्षतिग्रस्त सडकको भाग हटाएर नयाँ मार्ग निर्माण गर्ने उद्देश्यले ब्लास्टिङको काम अघि बढाएको छ । सडकको अवस्था तथा भौगोलिक जोखिमलाई ध्यानमा राखेर ब्लास्टिङमार्फत नयाँ सडक संरचना तयार गर्न लागिएको हो ।

भदौ १० गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान भएको थियो । कटानका कारण शीतल बजारसँगै धादिङको कृष्णभीर, परेवाभीरलगायतका स्थानमा सडक भासिएको छ । सडकमा भएको क्षतिले काठमाडौँ–चितवन तथा काठमाडौँ–पोखरा आवागमनमा समेत असर परेको छ ।

राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन लामो समयसम्म बाटोमै रोकिनुपर्ने अवस्था आएको छ भने दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ । विशेषगरी शीतल बजार क्षेत्रमा नदीतर्फको सडकको ठूलो भाग कटानमा परेर भासिएकाले सामान्य मर्मतबाट तत्काल सडक सञ्चालन गर्न कठिन भएको प्राविधिकहरूको भनाइ छ । त्यसैले क्षतिग्रस्त भाग हटाएर सडकको नयाँ संरचना तयार गर्ने काम थालिएको हो ।

पृथ्वी राजमार्ग संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण सडक भएकाले यसको शीघ्र पुनः सञ्चालन आवश्यक रहेको छ ।

बाढीका कारण सडक कटानसँगै विभिन्न स्थानमा पहिरो जाने तथा सडक भासिने समस्या देखिएपछि सडक खुलाउन डोजर तथा अन्य निर्माण उपकरणसमेत परिचालन गरिएको छ । जोखिमयुक्त स्थानमा प्राविधिक अध्ययन गरी अस्थायी तथा वैकल्पिक मार्ग निर्माणको कामसमेत अघि बढाइएको छ ।

आयोजनाका अनुसार क्षतिग्रस्त सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन नेपाली सेना, सडक विभाग तथा निर्माणसम्बद्ध प्राविधिक टोलीबीच समन्वय भइरहेको छ । ब्लास्टिङपछि सडकको सतह व्यवस्थापन, आवश्यक संरचना निर्माण तथा यातायात सञ्चालनका लागि थप काम गरिनेछ ।

रसुवा बाढीपछि त्रिशूली नदीमा आएको तीव्र बहावले नुवाकोट र धादिङ हुँदै काठमाडौँ जोड्ने सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । पृथ्वी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन क्षतिग्रस्त स्थानमा तत्कालीन मर्मतसँगै दीर्घकालीन पुनर्निर्माण आवश्यक देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.