भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने

हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने

काठमाडौं, २८ भदौ । इरान र ओमानले हर्मुज जलसन्धिमा संयुक्त नौपरिवहन मार्ग तोक्ने सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियानका अनुसार सम्झौतामा सोमबार ओमानको राजधानी मस्कटमा हस्ताक्षर हुनेछ ।

भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति पेजेस्कियानले क्षेत्रीय अरब राष्ट्र र इरानका विदेशमन्त्रीको उपस्थितिमा संयुक्त नौपरिवहन मार्गसम्बन्धी सम्झौता हुने बताएका हुन् । उनका अनुसार उक्त सम्झौताको घोषणा अन्तर्राष्ट्रिय समुद्री सङ्गठनमार्फत गरिनेछ ।

इरानको विदेश मन्त्रालयले पनि खाडी क्षेत्रका तटीय राष्ट्रका विदेशमन्त्रीहरू सोमबार ओमानमा भेला भएर क्षेत्रीय विषयमा छलफल गर्ने जनाएको छ । छलफलमा हर्मुज जलसन्धिमा सुरक्षित नौपरिवहन मार्ग तोक्ने विषयमा इरान र ओमानबीच भइरहेको वार्तासमेत समेटिने बताइएको छ ।

यसैबीच, बहराइनले भने उक्त प्रस्तावित मन्त्रीस्तरीय बैठकमा सहभागी नहुने स्पष्ट पारेको छ । बहराइनको विदेश मन्त्रालयले हर्मुज जलसन्धिको अवस्थासम्बन्धी बैठकमा आफ्नो सहभागिता नरहने जनाएको हो । इरानसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित नभएसम्म इरान संलग्न कुनै पनि सामूहिक बैठकमा सहभागी नहुने बहराइनको भनाइ छ ।

बहराइनले सन् २०१६ जनवरीमा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । आफ्नो निर्णयबारे बहराइनले ओमानलाई आधिकारिक माध्यमबाट यसअघि नै जानकारी गराइसकेको जनाएको छ । यद्यपि, बहराइनले ओमानले गरिरहेको कूटनीतिक प्रयास र विवाद समाधानका लागि संवादको माध्यमप्रतिको आफ्नो समर्थनमा कमी नआएको स्पष्ट पारेको छ ।

बहराइनको विदेश मन्त्रालयले आफ्ना पूर्वाधार तथा नागरिक स्थललाई लक्षित गरी भएका आक्रमणलाई आफ्नो बैठकमा सहभागी नहुने निर्णयको कारणका रूपमा समेत उल्लेख गरेको छ । तथ्यलाई बेवास्ता गरेर संवादमा सहभागी हुन नसकिने उसको भनाइ छ । यसअघि इरान र ओमानले संयुक्त वक्तव्यमार्फत हर्मुज जलसन्धिमा अस्थायी संयुक्त नौपरिवहन मार्ग स्थापना गर्ने प्रस्तावित चरणबद्ध संरचनाबारे छलफल गरेको जानकारी दिएका थिए ।

हर्मुज जलसन्धि विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक हो । पछिल्लो समय इरानसँगको तनावका कारण यस क्षेत्रमा जहाजको आवागमन र सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ ।

स्रोतका अनुसार फेब्रुअरी २८ मा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि तेहरानले हर्मुज जलसन्धिबाट हुने आवागमनमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि अमेरिकी सेनाले समेत इरानी बन्दरगाहबाट आउने–जाने जहाजलाई लक्षित गर्दै नौसैनिक नाकाबन्दी अघि बढाएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.