भर्खरै : Sorry, your browser does not support inline SVG.

रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व

रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ, २८ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरलानाका प्रयोग बढेको छ । यसको प्रभाव मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत देखिएको छ ।

लोमान्थाङ गाउँपालिका–४ स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा मात्रै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तु आयात हुने क्रम उल्लेख्य रूपमा बढेको हो । शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भदौ २२ गतेपछि दैनिक औसतमा करिब ३० करोड रुपैयाँ राजस्व सङ्कलन भइरहेको भन्सार प्रमुख चुडालले जानकारी दिए ।

उनका अनुसार शुक्रबार ७१ कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ । रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए । भदौ ९ गतेसम्म भने कोरलानाका हुँदै १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए ।

यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै वर्षभर खुला रहने कोरलानाकालाई तातोपानी र रसुवागढी नाका बाढीपहिरो तथा नदी कटानका कारण अवरुद्ध भएपछि सरकारले वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा प्रयोग गर्न थालेको थियो । सरकारले २०८२ भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा खुला गरेको थियो ।

भन्सार प्रमुख चुडालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा पैठारीतर्फ १४ अर्ब ४१ करोड रुपैयाँ र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरका मालवस्तुको कारोबार भएको थियो । गत आर्थिक वर्षमा कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन र एक हजार ८७३ वटा कन्टेनरको भन्सार जाँचपास गरिएको भन्सार कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.