२७४ नवनिर्वाचित सांसदको शपथ भोलि हुँदै
४७ सांसदले १७ मातृभाषामा शपथ लिने तयारी
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने
राष्ट्रपतिबाट केसीले आज शपथ लिने
संविधानअनुसार शपथपछि मात्रै संसद बैठकमा सहभागी हुन पाइने
विविध भाषामा शपथले भाषिक समावेशिताको झल्को
काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यको शपथ ग्रहण भोलि हुँदैछ। तीमध्ये ४७ जना सांसदले १७ वटा मातृभाषामा शपथ लिने तयारी गरेका छन्।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले आज राष्ट्रपति रामचन्द्र पौडेल बाट शपथ लिनेछन्। त्यसपछि केसीले नै भोलि चैत १२ गते दिउँसो २ बजे २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार संघीय संसदका प्रत्येक सदस्यले सदन वा समितिको बैठकमा पहिलोपटक सहभागी हुनुअघि शपथ लिनुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार सांसदहरूलाई मातृभाषामा समेत शपथ लिन सकिने सुविधा प्रदान गरिएको छ। सचिवालयले तोकेको समयसीमाभित्र जानकारी गराएका ४७ जना सांसदले नेपालीबाहेक विभिन्न १७ मातृभाषामा शपथ लिने भएका हुन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विभिन्न भाषामा शपथ लिने सांसदहरूले पूर्वसूचना दिएका छन्। तीमध्ये मैथिली, थारू, भोजपुरी, नेपाल भाषा, डोटेली, मगही, संस्कृत, तामाङ, बान्तावा, चाम्लिङ, अवधी, बझाङी, छन्त्याल र मगर खामलगायत भाषाहरू समावेश छन्। भाषिक विविधतालाई सम्मान गर्दै मातृभाषामा शपथ लिने अभ्यासले संघीय संसदमा समावेशिता झल्काउने अपेक्षा गरिएको छ।