बागलुङ, २४ साउन। सात महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको बागलुङ सदरमुकामको करिब दुई किलोमिटर सडक दुई वर्ष बित्न लाग्दा पनि पूरा हुन सकेको छैन। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको सडक अझै कालोपत्र हुन नसकेको हो।
बागलुङ बजारको बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको २ किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्नेगरी २०८१ फागुनमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८२ भदौ १५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो।
तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पहिलोपटक २०८३ असार मसान्तसम्म म्याद थप गरिएको थियो। उक्त अवधिमा पनि काम नसकिएपछि सरकारले सार्वजनिक खरिदसम्बन्धी संशोधित व्यवस्थाअनुसार पुनः २०८३ असोज मसान्तसम्म म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले जानकारी दिए।
६ करोड ७२ लाख ६५ हजार रुपैयाँमा एचसिबीजिसीएस कम्पनीसँग ठेक्का सम्झौता गरिएको उक्त सडकको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ।
बेस र कालोपत्रको काम बाँकी
सडक डिभिजन कार्यालयका अनुसार १२ मिटर चौडाइको दुई लेन सडकमा नाली निर्माण, टेवा पर्खाल, कल्भर्ट तथा सबबेस निर्माणको काम सम्पन्न भइसकेको छ। अब सडकको बेस निर्माण र कालोपत्रको काम मात्र बाँकी रहेको छ। सडक डिभिजन कार्यालयका इन्जिनियर विष्णु लामिछानेका अनुसार निर्माण व्यवसायीले विभिन्न समस्या देखाउँदै काममा ढिलाइ गरेका छन्।
अब अस्फाल्ट कङ्क्रिट प्रविधिबाट सडक कालोपत्र गर्ने तयारी गरिएको छ। यस प्रविधिबाट कालोपत्र गर्दा सडक लामो समयसम्म टिकाउ हुने र हरेक वर्ष सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने समस्या केही हदसम्म कम हुने कार्यालयको भनाइ छ।
बिटुमिन अभाव र मूल्यवृद्धिलाई दोष
निर्माण कम्पनीका प्रतिनिधि सुरेश श्रेष्ठले बिटुमिनको अभाव तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण कालोपत्रको काम अघि बढाउन नसकिएको बताएका छन्।
उनका अनुसार सडक संरचनासँग सम्बन्धित अन्य सबै काम पूरा भइसकेका छन्। थपिएको समयभित्र पर्याप्त मजदुर तथा उपकरण परिचालन गरी कालोपत्रको काम सम्पन्न गर्ने तयारी रहेको उनले बताए।
घरजग्गा विवादले पनि रोकिएको थियो सडक विस्तार
यस सडकको स्तरोन्नति लामो समयदेखि विभिन्न विवादका कारण रोकिँदै आएको थियो। लोकमार्ग विस्तारका क्रममा घरघडेरी तथा अन्य संरचना क्षति हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले संघर्ष समिति गठन गरेर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
सर्वोच्च अदालतले बाङ्गेचौरदेखि उपल्लाचौरको बुर्तिबाङ चोकसम्म १५ मिटर सडक कायम गर्ने निर्णय गरेपछि सडक स्तरोन्नतिको काम अघि बढेको थियो। तर लामो समयसम्म सडक स्तरोन्नति हुन नसक्दा अहिले पनि स्थानीयले समस्या भोगिरहेका छन्। सडकमा खाल्डाखुल्डी रहेका कारण सवारीसाधन आवागमन असहज हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।
