देशभर मनसुनी वायुको प्रभाव कायमै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। देशको हिमाली भागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

राति पनि भारी वर्षाको सम्भावना

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, मधेस प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भाग र बागमती प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका साथै बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

भारी वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.